कोरोना संक्रमणका कारण ३६ दिनसम्म अस्पताल बसेका कांग्रेस सांसद मीन विश्वकर्माले आफ्नो स्वास्थ्यबारे चासो राख्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आफू जीवन र मृत्युको दोसाँधमा हुँदा उपचारमा खटिएका स्वास्थ्यकर्मी, राम्रो उपचारका लागि चासो राखेर पहल गरिदिने राष्ट्रपति, प्रधानमन्त्री र स्वास्थ्यमन्त्री तथा पार्टीका नेता, कार्यकर्ताहरूलाई बिहीबार विज्ञप्तिमार्फत धन्यवाद दिएका हुन् ।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माले कोरोना संक्रमणले बनाएको स्वास्थ्य जटिलताका बाबजुद आफूले मृत्युलाई जितेर फर्किएको बताएका छन् । ‘३६ दिनको अस्पताल बसाइपछि घर आएको पनि आज १६ दिन भयो, स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएपनि अझै लगातार बोल्न र हिँड्न सकिरहेको छैन,’ उनले विज्ञप्तिमार्फत भनेका छन् । विश्वकर्मालाई अझै पनि खोकीले सताइरहेको छ ।
नेता विश्वकर्माले चिकित्सक र स्वास्थ्यकर्मी तथा शुभेच्छुकहरूको साथ, शुभेच्छा र मायाले आफूले पुनर्जीवन पाएको बताएका छन् । उनले आफू फोन उठाउन सक्ने अवस्थामा नरहेको भन्दै फोन नगर्न र त्यसको सट्टा म्यासेज गर्न आग्रह गरेका छन् ।