बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका गन्धर्व समाजका मानिसलाई बस्ने घरको व्यवस्था गरिएको छ ।
नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको काम गरिरहेका छन् ।
पहिलो चरणमा २४ घरमध्ये १० घर निर्माण भई गन्धर्व समुदायलाई हस्तान्तरणसमेत भइसकेको छ ।
नगरपालिकाको डुडुवा नहरको छेउमा रहेको गन्धर्व बस्तीलाई नगरपालिकाकै वडा नं. ११ मा सारिएको छ । तराई समृद्धि विकास र नगरपालिकाको सहयोगमा एक करोड २० लाख रुपैयाँ लगानीमा १० वटा घर बनाई गन्धर्वहरूलाई उपलब्ध गराएको छ ।
दोस्रो चरणअन्तर्गत ९० लाख ५८ हजार रुपैयाँ ९० पैसा लागतमा थप १० घर निर्माण गर्न लागिएको नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए ।
सरकारले गन्धर्व समाजका लागि घर बनाउन उपभोक्ता समितिलाई जिम्मेवारी दिएको छ । तर, उपभोक्ता समितिले व्यवस्थित तरिकाले घर निर्माण नगरिदिँदा समस्या भएको गन्धर्वहरू बताउँछन् ।
पहिलो चरणमा बनेका १० वटा घरको शौचालयको सेफ्टीट्यांकी एउटै भएकाले समस्या भएको गुनासो उनीहरूको छ ।
तैपनि घर नै नभएकाहरूका लागि सरकारले घर बनाइदिएपछि भने उनीहरू खुसी देखिन्छन् ।
समुदायका सबै परिवार छिट्टै घर पाउने आशामा रहेको वीरबहादुर गन्धर्वले बताए ।
आफ्नो आर्थिक अवस्थाका कारण बसोवासको राम्रो व्यवस्था गर्न नसकेको सन्दर्भमा यसरी घर बनाइदिने कार्यबाट उत्साह मिलेको कल्पना गन्धर्वले बताइन् ।
अहिले गन्धर्व समाजलाई घरको खाँचो भएकाले स्थानीय सरकारले घर बनाइदिएको छ । गन्धर्वहरू भने सरकारले घर बनाइदिएर मात्रै नपुग्ने बताउँछन् । आफूहरूलाई घरको लालपुर्जासमेत उपलब्ध गराइदिनुपर्ने दलबहादुर गन्धर्वले माग गरे ।
बसोवासको समस्यामा रहेका स्थानीय गन्धर्वहरू घर पाएपछि खुसी देखिन्छन् ।
यस्तै उनीहरूले स्थानीय तहबाट सीपमूलक कार्यक्रम पाउन सके जीविकोपार्जनका लागि समेत सहज हुने बताउँछन् ।