डोनाल्ड ट्रम्पले हार अस्वीकार गरे पनि सिनेट रिपब्लिकनका नेताद्वारा राष्ट्रपति चुनावको परिणाम स्वीकार

बुधबार, १ पुष, २०७७
डिजिटल संस्करण

राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकी माथिल्लो सदन सिनेटमा बहुमत पुऱ्याउने अभियान मंगलबार थालनी गरेका छन् । रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटका नेता मिच म्याक्कोनेलले राष्ट्रपति निर्वाचनको परिणाम स्वीकार गरेलगत्तै बाइडेन सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत जुटाउने अभियानमा लागेका हुन् । 

सिनेटको दुई सदस्यका लागि जोर्जिया राज्यमा आगामी ५ जनवरीमामा चुनाव हुँदै छ । यो चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएमा सिनेटमा रिपब्लिकन र डेमोक्रेटिक पार्टी दुवैको समान ५०–५० स्थान हुनेछ । 

राष्ट्रपति चुनावमा जोर्जिया राज्यमा बाइडेन विजयी भए पनि सिनेटका लागि उम्मेदवार रहेका डेमोक्रेटिक पार्टीका उम्मेदवारहरूले ५० प्रतिशत मत प्राप्त गरेका थिएनन् । त्यही कारण जोर्जियामा दोस्रो चरणको मतदान हुन लागेको हो ।

बाइडेन चुनावी प्रचार र सभाहरूका लागि जोर्जिया पुगेका छन् । जोर्जियामा डेमोक्रेटिक पार्टीका तर्फबाट जन ओस्सोफ र राफेल वार्नोक उम्मेदवार छन् । यसअघि जोर्जियाका दुवै स्थानमा रिपब्लिकन पार्टीका उम्मेदवार विजयी भएका थिए ।

बाइडेनले भनेका छन्, ‘यी दुई व्यक्ति मलाई दिनुहोस्, हामी सिनेटमा नियन्त्रण गर्न सक्षम हुनेछौँ ।’ इलेक्टोरल कलेजले बाइडेन विजयी भएको घोषणा गरेलगत्तै सिनेटका लागि रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच तानातान सुरु भएको छ । 

यसैबीच बाइडेनले इन्डियानाका पूर्वमेयर पिट बुटिजिगलाई यातायात मन्त्रालयको जिम्मेवारी दिएको घोषणा गरेका छन् । चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हार अझै स्विकारेका छैनन्, तर सिनेट रिपब्लिकनका नेता मिच म्याक्कोनेलले राष्ट्रपति ट्रम्पलाई एक सन्देश पठाई अब चुनावी दौड समाप्त भएको बताएका छन् ।

सिनेटको बैठकमा पनि म्याक्कोनेलले भने, ‘इलेक्टोरल कलेजले पनि बोलिसक्यो । त्यसैले आज म राष्ट्रपति निर्वाचित जो बाइडेनलाई बधाई दिन चाहन्छु ।’
 

सुझावित समाचार