कोरोना महामारीको असर, अमेरिकामै बढ्यो भोकमरी

बुधबार, १ पुष, २०७७
डिजिटल संस्करण

कार्ला क्यान्डेलारिया र उनका श्रीमान्ले आफ्ना बालबच्चालाई खाना खुवाउन फुड बैंकमा निर्भर हुनुपर्ला भनेर कहिल्यै सोचेका थिएनन् । भर्जिनियास्थित लउडउनमा बस्ने ३० वर्षीया कार्ला र उनका श्रीमान् दुवैसँग जागिर थियो । दुवैको तलबबापत आउने रकमले उनीहरूको परिवारलाई राम्रोसँग पुगेको थियो । कार्ला एउटा केयर सेन्टरमा काम गर्थिन् ।

श्रीमान् निर्माण सेवामा कार्यरत थिए । तर, गत जुन अन्तिममा कार्लाले जागिर गुमाइन् । उनी भन्छिन्, ‘त्यसपछि नै एकाएक सबै कुरा यसरी नराम्रोसँग परिवर्तन भयो ।’ नियमित भइरहेको आम्दानी घटेपछि उनलाई परिवार धान्न मुस्किल बन्यो । उनीहरूका ११ वर्षीय, नौ वर्षीय र चार वर्षीय जुम्ल्याहा गरी चारजना छोरा छन् । उनीहरूको रेखदेखका लागि समेत खर्च गर्नुपर्दा ठूलो आर्थिक संकटमा परेका छन् ।

केही समय उनीहरूले ऋण लिएर घरपरिवार चलाए । कार्लाका अनुसार अहिले ऋण तिर्नै नसक्ने गरी बढेको छ । सबै उपाय सकिएपछि उनीहरूलाई अहिले बिहान–बेलुकाको छाक टार्न नजिकै रहेको लउडउन हंगर रिलिफ फुड बैंकमा निर्भर पर्नुपरेको छ । 

अमेरिकामा छाक टार्नकै लागि निःशुल्क खाना बाँड्ने फुड बैंकमा भर पर्नुपर्ने कार्ला मात्रै हैनन् । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण अमेरिकामा भोकमरीको समस्या धेरै बढेको छ । धेरै मानिस बिहान–बेलुका छाक टार्नकै लागि ‘फुड बैंक’मा निर्भर हुन थालेपछि बढ्दो संख्यालाई खाना पुर्याउन मुस्किल परेको छ । 

तथ्यांक विभागका अनुसार अमेरिकामा इतिहासमै कुनै पनि संकट वा महामारीभन्दा कोरोना महामारीमा भोकमरीको समस्या धेरै बढेको छ । गत नोभेम्बरमा गरिएको सर्भेअनुसार प्रत्येक आठमध्ये एक अमेरिकी नागरिकले आफ्नो घरमा कहिलेकाहीँ वा नियमित रूपमै खानेकुरा सकिएको बताएका छन् । जुन अनुभव पहिले कहिल्यै नगरेको पनि उनीहरू बताउँछन् ।

सर्भेअनुसार २६ मिलियन वयस्कहरूले आफ्नो घरमा खानेकुराको अभाव भएको जनाएका छन् । अमेरिकामा समग्र रूपमै खाद्य सुरक्षामाथिको चुनौती भने गत वर्षबाटै बढेको हो । अमेरिकाको खाद्य सुरक्षा गत वर्ष सन् १९९८ देखियताकै सबैभन्दा कम बिन्दुमा देखिएको थियो । अमेरिकामा भोकमरीको समस्या नौलो हैन । यद्यपि, कोरोना महामारीले यसपटक भोकमरीको समस्या बढाउन मुख्य योगदान पुर्याएको छ । अमेरिकाको केही धनी राज्यमा पनि यो ठूलो समस्याका रूपमा देखिएको छ । 

लउडउन हंगर रिलिफले भर्जिनियामा राष्ट्रपति डोनाल्ड ट्रम्पको गल्फ कोर्सनजिकैको क्षेत्रमा सधैँ खाना बाँड्ने गथ्र्याे । कोरोना महामारी सुरु हुनुअघि उनीहरूले प्रतिसाता सात सय ५० को हाराहारीमा घरपरिवारलाई खाना खुवाउँदै आएका थिए । महामारीपछि यो संख्या दुई सय २५ प्रतिशतले वृद्धि भएको लउडउन हंगर रिलिफले जनाएको छ । ‘हामीले धेरै नयाँ मान्छेलाई देखिरहेका छौँ, जसलाई पहिले कहिल्यै यस्तो स्रोतको प्रयोग गर्नु आवश्यक नै परेको थिएन,’ रिलिफका कार्यकारी निर्देशक जेनिफर मोन्टगोमेरी भन्छन्, ‘उनीहरू अहिले साँच्चिकै समस्यामा परेका छन् ।’

सनफ्रान्सिस्को र मारिनजस्ता सहरमा आफ्नो सेवा दिइरहेको द सान फ्रान्सिस्को–मारिन फुड बैंकले अहिले ६० हजार परिवारलाई खाना खुवाउँदै आइरहेको छ । संस्थाका कार्यकारी निर्देशक पल आसका अनुसार यो संख्या कोरोना महामारी फैलनुअघिको भन्दा दोब्बर संख्या हो ।

कोरोना महामारी सुरु हुनुभन्दा पहिले वृद्धवृद्धा र बेरोजगारीहरूले मात्रै फुड बैंकको सेवा लिन्थे । फुड बैंकको सेवा लिनेमा उनीहरूकै बाहुल्य हुन्थ्यो । तर, अहिले जागिर गुमाउनेहरूमध्ये धेरै छाक टार्न फुड बैंकको भर पर्ने गरेका छन् ।
 एजेन्सीहरूको सहयोगमा

सुझावित समाचार