कोरोना संक्रमित पत्रकारलाई बिमाबापतको रकम हस्तान्तरण

आइतबार, २८ मंसिर, २०७७
डिजिटल संस्करण

सुनसरीका कोरोना संक्रमित पत्रकारलाई बिमाबापतको रकम हस्तान्तरण गरिएको छ । नेपाल प्रेस युनियन सुनसरीले सुनसरीका दुई सय ६० जना पत्रकारको निःशुल्क कोरोना बिमा गरेको थियो । उनीहरूमध्ये ३२ जना पत्रकारलाई कोरोना लागेको थियो । 

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार ३२ जनामध्ये हालसम्म सातजना पत्रकारलाई बिमाबापतको रकम उपलब्ध गराइसकिएको छ । ‘दसैँअगाडि नै एकजना पत्रकारलाई एक लाख रुपैयाँ उपलब्ध गराइएको थियो,’ अधिकरीले भने, ‘आज ६ जना कोरोना संक्रमण भएका पत्रकारलाई जनही एक लाखका दरले रकम हस्तान्तरण गरिएको हो ।’ 

उनले पत्रकारहरू पनि व्यावसायिक हुनुपर्ने तर्क गर्दै भने, ‘यो रकमले कुनै फजुल खर्च हुनुभन्दा पनि राम्रो ठाउँमा सदुपयोग होस् र व्यावसायिक हुन सकियोस् भन्ने शुभकामना छ ।’ बाँकी २५ जनाको रकमका लागि बिमा कम्पनीसँग सहकार्य भइरहेको र पुसभित्रमा अन्य पीडित पत्रकारको पनि रकम उपलब्ध गराइने उनको दाबी थियो ।  

रकम हस्तान्तरण कार्यक्रममा नेपाल प्रेस युनियन सुनसरीका पूर्वअध्यक्ष कृष्ण अधिकारीले युनियन सुनसरीले गरेको उक्त कामको प्रशंसा गरे । ‘चाहे फुड बैंक सञ्चालनमा होस् वा पत्रकार बिरामी पर्दा अस्पतालमा छुट गर्नमा होस् हरेक काम ऐतिहासिक छ,’ नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्षसमेत रहेका अधिकारीले भने, ‘यो ऐतिहासिक कामका लागि सकारात्मक चर्चा गर्नैपर्छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ तेह्रथुमका पूर्वअध्यक्ष महेन्द्र काफ्लेले देशैभरिका अन्य संगठनहरूले प्रेस युनियन सुनसरी शाखाले गरेको काम सिक्न आवश्यक रहेको बताए । 

कोरोना संक्रमित धरानका पत्रकार केदार बस्नेतले प्रेस युनियनले एक लाख रुपैयाँ हस्तान्तरण गर्नु सराहनीय रहेको बताए । 
 

सुझावित समाचार