१७ मंसिरमा एकैदिन निलम्बनमा परेका नेपाल प्रहरीका एसपीद्वय रामेश्वरप्रसाद यादव र विमल बस्नेतबीच दुई समानता छन्– दुवै १७ वर्षअघि राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा भित्र्याइएका हुन् र दुवैमाथि कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा छँदा मातहतका एकाइ प्रमुखलाई धम्क्याएर पैसा उठाएको आरोप लागेको छ । उस्तै कार्यशैली भएका दुवै एसपी ‘चोरबाटो’बाट नेपाल प्रहरीमा प्रवेश गरेका अधिकृत हुन् । एक सुरक्षा निकायबाट अर्काेमा स्थानान्तरण गर्ने कुनै प्रावधान नभएको अवस्थामा राजनीतिक लबिङबाट मन्त्रिपरिषद्को निर्णयका आधारमा उनीहरूलाई प्रहरीमा सारिएको थियो । तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काको जोडमा उनीहरूलाई प्रहरीमा स्थानान्तरण गरिएको थियो । २५ पुस ०५८ को मन्त्रिपरिषद् निर्णयका आधारमा राअविका ४६ जना कर्मचारीलाई नेपाल प्रहरीमा स्थानान्तरण गरिएको थियो । खासगरी, त्यतिवेला राजनीतिक नेतृत्वसँग पहुँच भएकाहरूको सामूहिक चलखेलको परिणाम थियो, त्यो स्थानान्तरण । प्रहरी संगठनले प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा त्यसको ठूलो मूल्य चुकाउनुपरेको प्रहरी अधिकारीहरू बताउँछन् । त्यतिवेला ३० इन्स्पेक्टर, चार सइ, आठ असइ, तीन हवल्दार र एक जवानलाई राअविबाट नेपाल प्रहरीमा स्थानान्तरण गरिएको थियो ।
स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छलफल गर्न लेखा समितिले स्वास्थ्यमन्त्रीलाई बोलाउने
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताबारे छलफल गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतका निकाय र नेपाली सेनामार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्यमन्त्री ढकालसँग छलफल गर्ने भएको हो । त्यसका लागि आगामी बैठकमा स्वास्थ्यमन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए ।
२८ मंसिरमा बस्दै संवैधानिक परिषद्काे बैठक, रिक्त छन् विभिन्न निकायमा ४५ पद
प्रधानमन्त्री केपी ओलीले आगामी आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन्। मंसिर २८ गते आइतबार बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी परिषद्को बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ। स्रोतका अनुसार संवैधानिक निकायहरूमा रिक्त रहेका पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल गर्न प्रधानमन्त्री ओलीले परिषद् बैठक बोलाएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, मधेसी आयोग, लोकसेवा आयोग, मुस्लिम आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलगायतका संवैधानिक निकायमा अहिले प्रमुखसहित ४५ पद रिक्त छन्।
सरकारले संसदीय समितिको निर्देशन टेर्दैन भन्ने आरोपलाई थप पुष्ट्याइँ गर्दै बिहीबार बसेको मन्त्रिपरिषद्ले ‘राज्य व्यवस्था तथा सुशासन समिति’को निर्देशनविपरीत निर्णय गर्यो । समितिले गत बुधबार आफ्नो २२०औँ बैठकमा सरकारलाई निर्देशन दिएको थियो, ‘नेपालको संविधानले व्यवस्था गरेको संघीय संरचनाविपरीत उपत्यकाका तीन जिल्लालाई बागमती प्रदेशबाट अलग्याउने गरी अध्यादेशमा भएको प्रावधान र सम्बन्धित मन्त्रालयबाट प्रहरी अतिरिक्त महानिरीक्षकको पद संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदन तथा प्रस्तुत प्रस्तावमा समेत समावेश नभएको अवस्थामा मुलुकको समग्र प्रहरी संगठनको सञ्चालनमा दूरगामी रूपमा प्रतिकूल असर पर्ने गरी प्रहरी अतिरिक्त महानिरीक्षकको पद सिर्जना गर्ने विषय संविधान, कानुन, विधि र प्रक्रियाविपरीत भएकोले हाललाई उक्त प्रहरी अतिरिक्त महानिरीक्षकको पदको नियुक्ति कार्य कार्यान्वयन नगर्न–नगराउन नेपाल सरकार, गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिने ।’ उक्त निर्देशनको धज्जी उडाउँदै बिहीबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गरिदियो । समितिले २ घण्टासम्म छलफल गरेर दिएको निर्देशन सरकारले दुई दिनपनि नबित्दै ‘बेकामे’ ठहर्याइदियो ।
सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) अझै तीन महिना नखुल्ने भएको छ । जाडो महिनाभरि कोरोना भाइरसको जोखिम उच्च रहने भएकाले अझै तीन महिना अनुमतिपत्र (ट्रायल) नखोल्न आन्तरिक छलफल भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
बलात्कार कसुर मिलापत्र गराउने ६ जना पक्राउ
पाँच लाख रुपैयाँ दिएर बलात्कार कसुर मिलापत्र गराएको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । २४ भदौ ०७७ मा मोरङको धनपालथान गाउँपालिका– ५ मा धानखेतमा मल छर्ने क्रममा बेलवारी नगरपालिका– ८ का ३२ वर्षीय सुरेशकुमार खवासले २१ वर्षीया युवतीलाई बलात्कार गरेका थिए । उक्त घटनालाई पाँच लाख दिएर मिलापत्र गराएको आरोपमा प्रहरीले उनीलाई पक्राउ गरेको हो ।
सहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख राजेन्द्र साहले एकैपटक २७ जना करारका कर्मचारीलाई जागिरबाट बर्खास्त गरेका छन् । उनले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएको दुई दिनमै २७ जना कर्मचारीलाई एकैपटक जागिरबाट बर्खास्त गरेका हुन् । गत २५ असोजमा साह निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएर पर्सा आएका थिए । आएको दुई दिनमै साहले कार्यालयमा आफूअनुकुल कर्मचारी नभएको भन्दै दुईजना इन्जिनियर, कार्यालय सहायकलगायत २७ जनालाई एकैपटक निकालेको बर्खास्तीमा परेका कर्मचारीले बताए ।
फाइजर खोपलाई अमेरिकी विज्ञको समर्थन
अमेरिकी विज्ञहरूले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड– १९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन बिहीबार सिफारिस गरेका छन् । विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड– १९ को खोप व्यापक रूपमा लगाउने बाटो खुलेको छ । संयुक्त राज्य अमेरिका विश्वमै कोरोना भाइरसबाट सर्वाधिक प्रभावित मुलुक भएको छ । यहाँ विगत ४८ घन्टाको अवधिमा ६ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो मृत्युदर बढेसँगै अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या तीन लाखको हाराहारी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । खड्काले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । पूर्वकप्तान खड्काले शुक्रबार बिहान पिसिआर परीक्षण गराएका थिए । पूर्वकप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम बुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेका थिए ।
पुरुष र महिला फुटबलरलाई समान तलब
अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुरुष र महिला खेलाडीलाई समान तलब दिने भएको छ । बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले आफ्ना खेलाडीका लागि समान तलबको निर्णय गरेको हो । निर्णयअनुसार पुरुष र महिला दुवैतर्फ राष्ट्रिय टोलीमा रहेका प्रत्येक खेलाडीले मासिक समान १८ हजार पाउने भएका छन् । यसअघि एन्फाले पुरुषतर्फ राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई मासिक १५ हजार र महिलालाई सात हजार दिँदै आएको थियो ।