९ महिनापछि काठमाडाैं–दिल्ली उडान खुल्दै निगमले टिकट बुकिङ खुलायो

शुक्रबार, २६ मंसिर, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणका कारण ९ महिना बन्द भएको काठमाडौं–दिल्ली उडान २ पुसबाट खुल्ने भएको छ । भारतले बिहीबार नेपाल–भारत उडानमा सहमति दिएसँगै आगामी सातादेखि उडान खुल्ने भएको हो । नेपालले गत साता भारतले पठाएको प्रस्तावमा सहमति गर्दै उडान खोल्न अनुरोधपत्र पठाएको थियो ।

सुरुवातमा नेपाल र भारतबीच दैनिक एक–एक मात्रै उडान हुनेछ । नेपाल–भारत सहमतिअनुसार भारतबाट एयर इन्डियाले दैनिक दिल्ली–काठमाडौं–दिल्ली एउटा उडान गर्नेछ भने नेपालको तर्फबाट राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं उडान गर्नेछ । 

भारतले गत भदौमा नै ‘एयर बबल’मार्फत उडान गर्ने प्रस्ताव नेपाल पक्षलाई गरेको थियो । तर, नेपालले एयर बबलमार्फत नभई नियमित नै उडान गर्ने अडान लिएको थियो । नेपाली पक्षले तीन महिना अडान लिए पनि भारतीय पक्षले एयर बबलबाट मात्रै उडान गर्ने सक्ने जनाउ दिएको थियो । 

अन्ततः नेपाल पक्षले पनि ‘एयर बबल’मार्फत नै उडान गर्न सहमति जनाउँदै प्रक्रिया अगाडि बढाउने गत साता निर्णय गरेको थियो । ‘भारतले सहमति दिएसँगै आउने बिहीबारबाट उडान गर्ने गरी नेपाल वायुसेवा निगमले बुकिङ खुला गरेको छ,’ नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।  

भारतले गरेको एयर बबलको प्रस्तावमा भने दुई देशका मात्रै नागरिक यात्रु हुन पाउनेछन् । त्यसैगरी, भारतबाट दैनिक एक र नेपालबाट पनि दैनिक एक मात्रै उडान गर्न पाइनेछ । पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य पेस गर्नुपर्नेछ । तेस्रो मुलुकको नागरिक जानुपरेमा भारत सरकारले अनुमति दिनुपर्नेछ । 

तीन महिनाअघि भारतले नेपाल उडानका लागि एयर बबल एग्रिमेन्टमार्फत उडान गर्ने प्रस्ताव पठाएको भए पनि हालसम्म नेपालले स्वीकार गरेको थिएन । भारतले गत ७ भदौमा नै नेपाली दूतावासमार्फत प्रस्ताव पठाएको थियो । भारतले हाल २१ देशसँग एयर ट्राभल बबलअन्तर्गत उडान खुलाएको छ । 

सरकारले भारतसहित सार्क देशमा समेत नियमित उडान खुलाउने निर्णय गरे पनि भारतले भने डिसेम्बरको अन्त्यसम्म नियमित उडान नखुलाउने जनाउ दिइसकेको छ । नियमित उडान नखुले पनि एयर बबलमार्फत भने उडान गर्न अनुमति भारतले दिनेछ । 

नेपालबाट मध्यपूर्व, चीन, हङकङ, बैंकक, जापानमा गत १७ भदौदेखि नै नियमित उडान खुलेका थिए । भारत र सार्क मुलुकमा नियमित उडान खुलेको थिएन । सरकारले अन्तर्राष्ट्रियतर्फ गत १७ भदौदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुलेपछि २ लाखभन्दा बढी हवाई यात्रुले सेवा लिएका छन् । 

खासगरी भारतमा उडान नखुल्दा विद्यार्थीदेखि उपचारमा जान–आउनसमेत समस्या भएकाले अब सहज हुने अनुमान गरिएको छ । नेपालबाट सार्क मुलुकहरू भारत, भुटान र बंगलादेशसँग पनि उडान हुनेछ । गत १७ भदौदेखि नै मलेसियासहित खाडी मुलुकमा उडान खुलेको छ । यता जापान तथा चीनसमेतमा उडान खुलेको छ । 

विगत लामो समयदेखि नेपाल–भारत उडान हुन नसक्दा नेपाल वायुसेवा निगमले ठूलो आम्दानी गुमाउनुपरेको छ । निगमको सबैभन्दा बढी नाफा आर्जन गर्ने गन्तव्य गत ११ चैतदेखि बन्द भएको थियो । 

करिब १ घन्टाको उडान हुने दिल्लीमा नेपाली र भारतीय यात्रुकै चाप हुने गर्छ । खासगरी नेपालबाट शिक्षा, स्वास्थ्यलगायत व्यापारिक उद्देश्यले जाने–आउने यात्रु बढी हुने भएकाले पनि निगमको दिल्ली उडानमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी हुने गरेको छ । 

सुझावित समाचार