महोत्तरीमा सशस्त्र प्रहरीद्वारा स्वास्थ्य शिविर सञ्चालन

बिहिबार, २५ मंसिर, २०७७
डिजिटल संस्करण

महोत्तरीमा सशस्त्र प्रहरीले स्वास्थ्य शिविर सञ्चालन गरेकाे छ । स्वास्थ्य शिविरबाट ५० भन्दा बढी स्थानीयवासीले सेवा लिएका छन् । 

बल महिला संघ र नेपाल एपिएफ अस्पताल परिवारको आयोजना तथा नेपाल हर्ट फाउन्डेसनको सहयोगमा महोत्तरीको मनरा सिस्वा नगरपालिका–९ स्थित बथनाहामा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

सशस्त्र प्रहरीका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रामशरण पौडेलले सशस्त्र प्रहरी अस्पतालको तर्फबाट स्वास्थ्यचौकीलाई स्वास्थ्य उपकरणसमेत हस्तान्तरण गरेका थिए । शिविरमा मुटु रोगका बिरामी जाँच गरिएको थियो । साथै आँखा तथा अन्य रोगका बिरामीले समेत सेवा लिएका थिए ।  

माया नमार्नुस् हामी तपाईंकै सुरक्षाका लागि खटेका छौँ : एआइजी पौडेल

सशस्त्र प्रहरीका एआइजी पौडेलले विगतमा सर्वसाधारणबाट निकै माया र सहयोग पाए पनि कोभिडका कारण जनता र आफूहरुबीच दूरी बढेको बताए । उनले कोरोना महामारीमा सीमामा कडाइ हुँदा सर्वसाधारणको तर्फबाट विगतको तुलनामा माया कम पाएको भन्दै माया नमार्न आग्रह गरे । 

उनले सीमारक्षा र सीमाभित्र बस्ने नागरिकको सुरक्षाका लागि नै भएकाले कर्तव्य निर्वाह गर्दा कहिलेकाहीँ सर्वसाधारणलाई अप्ठ्यारो पर्नु स्वाभाविक भए पनि नियतले नभई जिम्मेवारीले अप्ठ्यारो परेको हुन सक्ने बताए । उनले सशस्त्र प्रहरीले कहिले पनि आमजनसमुदायलाई दुःख नदिने प्रयास गर्ने गरेको बताए  । 

एआइजी पौडेलले मनरामा बिओपी स्थापनाका लागि आफ्नै जग्गा उपलब्ध गराएकोमा शिविरमा चिकित्सकको नेतृत्व गरेका संगठनकै डिएसपी फिजिसियन डा.रोशनकुमार झालाई धन्यवाद दिए । 

डा. झाले आफ्नै जन्मथलो र गाउँवासीको सेवा गर्ने मौका पाएकोमा सुखी व्यक्त गरे । शिविरको उद्घाटन कार्यक्रममा एआइजी पौडेलसहित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतम, मनरा सिस्वा नगरपालिका मेयर, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकाय प्रमुखसमेतको उपस्थिति रहेको थियो । 

सुझावित समाचार