नेपाल स्टारको दोस्रो ठूलो स्पोन्सर ब्रान्ड वृज सिमेन्टले नेपाल स्टारका १० उत्कृष्ट प्रतियोगीलाई प्रत्येक हप्ताको प्रतिस्पर्धापछि ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’ घोषणा गर्ने भएको छ । एक्सपर्ट अफ द डेलाई १० हजारका दरले नगद र ट्रफी प्रदान गर्ने कम्पनीका वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक मनोजकुमार केडियाले बताएका हुन् ।
पुरस्कार घोषण गर्दै कम्पनीका प्रबन्ध निर्देशक केडियाले वृज सिमेन्ट जहिले पनि देशका हरेक विधाका ऊर्जालाई सहयोग र प्रेरणा गर्न तत्पर रहने बताए । नेपाल स्टारमा वृज सिमेन्ट पावर बाई स्पोन्सर खण्डमा रहेको र नेपाली कला, संस्कृति, गीत र संगीतलाई माथि उठाउन हातमा हात मिलाएर अगाडि बढ्न तयार रहेको उनको भनाइ थियो ।
नेपालको आफ्नै सांगीतिक रियालिटी सो नेपाल स्टारले नेपालमा भएका प्रतिभाहरू स्वस्फूर्त रूपमा अगाडि आउनेछन् र समग्र नेपाली गीत–संगीत क्षेत्रको विकास हुने केडियाको भनाइ थियो । उनले भने, ‘नेपाल स्टारमा हामीले यसै कारण सहभागिता भएको र भविष्यमा समेत हामी निरन्तर रूपमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्छु ।’
पुरस्कार घोषणा कार्यक्रममा नेपाल स्टारका निर्णायक वरिष्ठ संगीतकार आलोकश्री, वरिष्ठ गायक रामकृष्ण ढकाल एवं वरिष्ठ गायिका अञ्जु पन्तको उपस्थिति रहेको कम्पनीले जनाएको छ । नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ एवं कि एडभरटाइजिङ सर्भिस प्रालिका प्रबन्ध निर्देशक रवीन्द्रकुमार रिजालको पनि उपस्थिति रहेको जनाइएको छ ।