हिउँचितुवा जोगाउन पशुबिमा

बिहिबार, २५ मंसिर, २०७७
डिजिटल संस्करण

दुर्लभ वन्यजन्तु हिउँचितुवा जोगाउन डोल्पामा पशुबिमा कार्यक्रम लागू गरिएको छ । से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने गाउँबस्तीका किसानलाई लक्षित गरी पशुबिमा कार्यक्रम लागू गरिएको हो ।

निकुञ्ज क्षेत्रमा पाइने हिउँचितुवा र ब्वाँसोलगायत वन्यजन्तुबाट घरपालुवा जनावरको क्षति न्यूनीकरण गर्दै कृषकको हिउँचितुवाप्रतिको प्रतिशोध घटाउन पशुबिमा लागू गरिएको निकुञ्जले जनाएको छ ।

से–फोक्सुन्डो निकुञ्ज हिउँचितुवाको प्रमुख वासस्थान भएकाले यसलाई जोगाउन बिमा कार्यक्रम लागू गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । याक, चौँरी, भेडा, च्यांग्रालगायत घरपालुवा जनावरहरू वन्यजन्तुले क्षति पुर्याउँदा स्थानीय बासिन्दाले वन्यजन्तु मार्ने गरेका छन् । त्यसलाई रोक्न पनि पशुबिमा गरिएको उनको भनाइ छ । 

पशुबिमा योजना स्थानीय समुदायको प्रिमियम र विश्व वन्यजन्तु कोषबाट प्रदान गरिएको अक्षय कोषको ब्याज रकमबाट वन्यजन्तुबाट हुने पशुधनको क्षतिलाई राहत प्रदान गर्नका लागि ल्याइएको नयाँ कार्यक्रम भएको विश्व वन्यजन्तु कोषका कर्मचारी गौतम पौडेलले बताए ।

विश्व वन्यजन्तु कोषको अनुदान सहयोगमा से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित हिउँचितुवा तथा आहारा प्रजाति संरक्षण कार्यक्रमअन्तर्गत मुगुको डोल्फुमा १० लाखको पशुबिमा योजना कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

यस योजनाबाट स्थानीय समुदायको जीविकोपार्जनमा सुधार हुने, पशुधनको क्षतिबाट हुने नोक्सानी वहन गर्न सकिने र हिउँचितुवाप्रति स्थानीय बासिन्दाको सोचाइमा सकारात्मक परिवर्तन हुने पौडेलको विश्वास छ । 

सुझावित समाचार