६० वर्ष नाघेका पत्रकारलाई मासिक पेन्सन दिइने

बुधबार, २४ मंसिर, २०७७
डिजिटल संस्करण

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ६० वर्ष नाघेका पत्रकारलाई मासिक पेन्सन दिने भएको छ । महासंघ मकवानपुरले ६० वर्ष उमेर पूरा गरी पत्रकारिताबाट विश्राम लिएकालाई मासिक चार हजार पेन्सन दिने निर्णय गरेको हो । 

महासंघले पेन्सन उपलब्ध गराउन कार्यविधि निर्माण गरिसकेको छ । कार्यविधिअनुसार २० वर्षसम्म पत्रकारितालाई मुख्य पेसा बनाएका ६० वर्ष पुगेको र अन्य कुनै किसिमबाट पेन्सन, भत्ता नलिने पत्रकारलाई मासिक चार हजार उपलब्ध गराइने उल्लेख छ । 

महासंघको बुधबार बसेको कार्यसमिति बैठकले ज्येष्ट पत्रकार पेन्सनसम्बन्धी कार्यविधि, २०७७ पास गर्दै पेन्सन दिनका लागि सुरुवात गर्न लागेको हो । पेन्सन दिनका लागि हेटौँडा उपमहानगरपालिकाले कोषमा दश लाख रुपैयाँ यसअघि नै हस्तान्तरण गरिसकेको छ । पत्रकार महासंघ मकवानपुर शाखाले वाणिज्य बैकमा यसअघि नै खोलिएको खातामा दश लाख रुपैयाँ जम्मा गरिसकेको छ । 

बैंकमा यसअघि मुद्दती खातामा रहेको दुई लाख रुपैयाँसमेत पेन्सन कोषमा जम्मा गर्ने निर्णय बैठकले गरेको छ । उपमहानगरपालिकाले कोषका लागि दिएको दश लाखको ब्याज रकमबाट पेन्सन दिन लागिएको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बताए । पेन्सनसम्बन्धी कार्यविधिलाई महासंघको आगामी २६ मंसिरमा हुने साधारणसभामा पेस गर्ने बताइएको छ ।

सुझावित समाचार