कालिकोट जिल्लाको शान्नी त्रिवेणी गाउँपालिका–१ सेरीज्युलामा रहेको शंकर माध्यमिक विद्यालयका बालकक्षादेखि कक्षा पाँच कक्षासम्मका विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् ।
विद्यालयको कक्षाकोठाभित्र आवश्यक मात्रामा बेन्च–डेस्ककाे व्यवस्था नहुँदा विद्यार्थीहरू खाली चौरमा बसेर पढ्न बाध्य भएका हुन् ।
कोरोना संक्रमण हुनुभन्दापहिले विद्यालयमा कार्पेटमा बसेर पढ्न पाएका विद्यार्थीहरूले विद्यालयलाई आइसोलेसन बनाएपछि त्यहाँकाे कार्पेट हरायाे । डेस्क, बेन्च भाँचिए । अहिले विद्यालय खुलेपछि चिसो मौसममा भुइँमा बसेर विद्यार्थीहरू पढ्न बाध्य भएका छन् ।

लामो समयपछि विद्यालय सञ्चालन आएको र विद्यार्थीहरू अहिले खुला चौरमा धुलोमा बसेर पढ्न बाध्य भएका शंकर माध्यमिक विद्यालयका शिक्षक खेमराज गिरीले बताए।
‘पहिले कार्पेट विछ्याएको भए पनि विद्यालयलाई आइसोलेसन बनाएपछि अहिलेसम्म पनि विद्यार्थीले कार्पेट पाएका छैनन् ।’ उनले भने,विद्यार्थीको पढाइ सहजताका लागि गाउँपालिकामा निवेदन दिएको भए पनि गाउँपालिकाले कुनै वास्ता गरेको छैन।’
शिक्षक गिरीले बालकक्षादेखि पाँच कक्षाका विद्यार्थीहरूका लागि तत्काल बेन्च–डेस्कको आवश्यकता नभए पनि कक्षाकोठामा कार्पेटको व्यवस्थापनका लागि आफू लागिपरेको, तर प्रयास सफल हुन नसकेको बताए ।
‘भुइँमा राखेर बालबालिकालाई पढाउनुपर्ने बाध्यता छ’, उनले भने,‘विद्यालयलाई आइसोलेसन बनाएपछि विद्यालयमा भएका कार्पेट पनि हराए गाउँपालिकाले अर्को व्यवस्था गरेको छैन । बाध्य भएर विद्यार्थीलाई धुलो, माटोमा राखेर पढाउनु परेको हो ।’