दिल्लीका मुख्यमन्त्री केजरीवाललाई घरमा नजरबन्द गरेको आम आदमी पार्टीको आरोप

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई गृह मन्त्रालयको निर्देशनमा केन्द्र सरकारले घरमै नजरबन्द गरेको आम आदमी पार्टीले आरोप लगाएको छ । दिल्ली प्रवेश गर्ने नाकामा आन्दोलनरत किसानहरूलाई सर्मथन गर्न सोमबार केजरीवाल आन्दोलनस्थलमा पुगेका थिए । उनले आन्दोलनरत किसानहरूको अवस्थाबारे पनि सोधपुछ गरेका थिए । आज पनि पुनः आन्दोलनरत स्थलमा जान सक्ने आशंकामा केजरीवाललाई नजरबन्दमा राखिएको हुन सक्ने आम आदमी पार्टीको भनाइ छ ।  

तर, दिल्ली पुलिसले केजरीवाललाई नजरबन्दमा नराखेको बताएको छ । दिल्लीको उत्तरी क्षेत्रमा कार्यरत डिसिपी एंटो अल्फोसका अनुसार अन्य दलसँग किसानहरूको झडप नहोस् भनेर प्रहरी परिचालन गरिएको हो । यो सामान्य अवस्था हो । तर, मुख्यमन्त्रीलाई नजरबन्द भने नगरिएको उनले बताए । 

आम आदमी पार्टीका नेता सौरभ भारद्वाजका अनुसार केन्द्र सरकारले दिल्ली सरकारलाई आन्दोलनरत सबै किसानलाई दिल्ली स्टेडियम ल्याएर कैद गर्न दबाब दिएको थियो । तर, मुख्यमन्त्री केजरीवालले किसान आन्दोलनलाई सर्मथन गर्दै केन्द्र सरकारको भनाइ अस्वीकार गरेको उनको भनाइ छ । उनले ट्विटरमा लेखेका छन्, ‘हामी किसानको साथ छोड्न सक्दैनौं । किनकी उनीहरू हाम्रा अन्नदाता हुन् ।’ उनले केन्द्र सरकार किसानसँग डराएको पनि बताएका छन् । किसानहरूको जायज मागलाई आम आदमी पार्टीको समर्थन छ । यसकारण मुख्यमन्त्रीको घर घेर्न गृह मन्त्रालयले प्रहरीलाई आदेश दिएका हुन् ।  

सरकारले हालै जारी गरेको कृषिसम्बन्धी कानुनको विरोध गर्दै भारतका किसान आन्दोलनमा उत्रिएका छन् । व्यापारी पोस्ने र किसानलाई चुस्ने खालको कानुन सरकारले ल्याएको आन्दोलनरत किसानहरूको आरोप छ । यो कानुन फिर्ता नलिएसम्म आन्दोलन नरोकिने किसानहरूको चेतावनी छ । सरकारका प्रतिनिधि र आन्दोलनरत किसानबीच पटक–पटक वार्ता भए पनि निष्कर्षमा पुग्न सकेको छैन । किसानहरूले वार्ता र आन्दोलन सँगसँगै जारी राखेका छन् । 
 

सुझावित समाचार