बिएमडब्लूको बिक्री सुरु

ग्राहकलाई ‘प्रिमियम कस्टमर सर्भिस’ दिइने

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

नेपालका लागि बिएमडब्लू मोटर्सको आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले १० हजार १ सय ६५ स्क्वायर फिटको सोरुमसहित बिएमडब्लू ब्रान्डको आधिकारिक बिक्री सुरु गरेको हो । 

जर्मन ब्रान्ड बिएमडब्लूलाई नेपाली बजारमा स्थापित र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्लू एसिया र बिएमडब्लू बंगलादेशसँग सहकार्य गरेको जनाएको छ । बिएमडब्लू ब्रान्डले नेपालमा रहेको अन्तर्राष्ट्रियस्तरको सोरुममा प्रिमियम कारको अपेक्षा राख्ने ग्राहकलाई उत्कृष्ट ‘ब्रान्ड’को अनुभूति प्रदान गर्ने र प्रिमियम ‘वनरसिप जर्नी’ प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । 

नेपालमा बिएमडब्लू ब्रान्ड र नयाँ सोरुमको सुरुवात गर्दै बिएमडब्लू ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यबाट बिएमडब्लू उत्साहित भएको बताए । उनले भने, ‘नेपाली बजार बिएमडब्लूका लागि निकट भविष्यमा उदाउँदो बजार हो भने, लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बिएमडब्लू ब्रान्डको उपस्थिति बलियो हुनेछ ।’ यसका ग्राहकले ‘डाइनामिक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउने उनको भनाइ थियो । 

उनले नेपालमा छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्न चाहेको बताए । त्यसैले, विश्वस्तरीय ‘स्टेट अफ आर्ट’ फिचरले भरिपूर्ण सोरुम निर्माण गरेको उनको भनाइ थियो । बिक्री र बिक्रीपछिको उत्कृष्ट सेवा दिन प्रतिबद्ध रहेको वेनरको भनाइ थियो । 

लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले ग्राहकलाई गाडी खरिदमा अस्मरणीय क्षणको अनुभव दिलाउन चाहेको बताए । ग्राहकले सोरुममा प्रवेश गर्दा उत्कृष्ट लाउन्ज र आकर्षक ‘इसेटा बार’ को अनुभव गर्न पाउने उनको 
भनाइ थियो । 

हाल कम्पनीले ४ मोडलको सामान प्रदर्शनीमा राखिने जनाएको छ । त्यस्तै, सर्भिस एरियाले जोकोहीलाई लोभ्याउने कम्पनीको दाबी छ । कोभिड–१९ को त्रास रहेको हालको परिस्थितिमा ‘कन्ट्याक्ट लेस’ टेस्ट ड्राइभको सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । त्यसका लागि ग्राहकले लक्ष्मी प्रिमियमको वेबसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेस्ट ड्राइभ बुक गर्न सक्ने जानकारी दिएको छ । टेस्ट ड्राइभमा छनोट गरिएको वा खरिद गरिएको कार पूर्णतः सेनिटाइज गरिएको हुने कम्पनीले जनाएको छ । 

बिएमडब्लू बंगलादेशले नेपालमा बिएमडब्लूको बजार स्थापित गर्न बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने पूर्वाधारको तयारी गर्न र उच्चस्तरीय ग्राहक सेवालाई प्राथमिकता दिन ‘मेन्टर’को बलियो भूमिका निर्वाह गरेको कम्पनीले जनाएको छ । साथै, बिएमडब्लू बंगलादेशले विगतमा पाएको सफलताको उदाहरणलाई लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा पनि दोहोर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । 

सुझावित समाचार