दावाँली मिलन क्लब भोजपुरले नेपाल सरकारका सचिव सुरेश आचार्यसहित पाँच विशिष्ट व्यक्तिलाई सम्मान गरेको छ । भक्तपुरको नगरकोटमा कार्यक्रम आयोजना गरी क्लबले सचिव आचार्य, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष उद्धव तिमिल्सिना, लघुवित्त व्यवसायी विक्रम विष्ट र उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतलाई सम्मान गरेको हो ।
भोजपुरमा जन्मिएर राज्यको विभिन्न तहमा जिम्मेवारी निभाइरहेका विशिष्ट व्यक्तिहरूलाई क्लबले एकसाथ सम्मान गरेको हो । सम्मानित व्यक्तिहरूलाई पूर्वअर्थमन्त्री तथा प्रशासक शंकर कोइराला, प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार र क्लबका अध्यक्ष रोशन श्रेष्ठले सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरे ।
कार्यक्रममा प्राध्यापक डा. उपेन्द्र कोइराला, पूर्वप्रधानसेनापति रुक्मांगद कटुवाल, सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक दुर्जकुमार राई, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईसमेत सहभागी थिए । कार्यक्रममा सहभागीले भोजपुरमा जन्मिएर राज्यको विभिन्न तहमा पुगेका व्यक्तिहरूले भोजपुर र सिंगो राज्यको विकासमा योगदान पुऱ्याइरहेको भन्दै प्रशंसा गरेका थिए ।