बोक्सीको आरोप लगाउने तीनजनालाई कैद सजाय

सोमबार, २२ मंसिर, २०७७
डिजिटल संस्करण

सल्यानको शारदा नगरपालिका– १ श्रीनगरनिवासी ६० वर्षीया महिलालाई बोक्सी आरोप लगाएको आरोपमा तीनजनालाई कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको फैसलाबमोजिम मंसिर २१ गते तीनजना महिलालाई कैद सजाय र जरिवाना भएको हो । 

शारदा नगरपालिकामा ०७७ भदौ ५ गते बोक्सी भनेको आरोपमा प्रहरीले सोही ठाउँ निवासी २१ वर्षीया सरिता खड्का, २४ वर्षीया गीता खड्का र २३ वर्षीया जयन्ती रोकालाई ०७७ असोज १२ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्ष्मण वलीले जानकारी दिए । 

जयन्ती र गीता छिमेकी रहेको र बिरामी परेको वेला स्थानीय सरितालाई हात हेराउन जाँदा तिमीहरूलाई पार्वती थापा बोक्सी लागेकी छे, त्यसैले तिमीहरू बिरामी हुन्छौ, त्यहाँ गएर एकसरो लुगा छोड अनि सन्चो हुन्छ भनेपछि दुवैजनाले त्यसै गरेको अदालतसामु स्वीकार गरेका हुन् । 

पीडित महिलाले त्यो कुरा थाहा पाएपछि प्रहरीमा जाहेरी दिएकी हुन् । हाल जिल्ला अदालत सल्यानले  मंसिर २१ गते जयन्ती खड्कालाई ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनायो भने अन्य दुईजना सरिता खड्का र गीता खड्कालाइ जनही तीन महिना कैद र दुई हजार पाँच सय रुपैयाँ जरिवानको फैसला सुनाएको श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए । 

सुझावित समाचार