काभ्रेको बनेपा नगरपालिका– ६ बुडोलस्थित अरनिको राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
आइतबार साँझ विपरीत दिशाबाट गइरहेको ना.१२प ७४२९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०१७ प २७०८ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाका अनुसार दुर्घटनामा परी घाइते भएका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाका अन्दाजी २९ वर्षीय हरिकृष्ण बस्नेत र काभ्रेको धुलिखेल नगरपालिका– ८ भट्टेडाँडाका अन्दाजी २८ वर्षीय सत्यमान तामाङको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवैजनाको शव धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परी घाइते भएका तीनजनामध्ये चौतारा साँगाचोकगढीका विकास बस्नेतको काठमाडौंस्थित छाउनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, घाइते धुलिखेल नगरपालिका– ४ का अनिल मगर र उदयपुर गाईघाटका सुवास मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।