ल्हासा नगरबाट काठमाडौं महानगरलाई दुईवटा कम्प्रेस्ड गारवेज ट्रक उपहार

आइतबार, २१ मंसिर, २०७७
डिजिटल संस्करण

चीनको तिब्बत क्षेत्रमा रहेको भगिनी सहर ल्हासाबाट काठमाडौं महानगरपालिकालाई दुईवटा कम्प्रेस्ड गारवेज ट्रक प्राप्त भएका छन् ।

असोज १ गते ट्रक उपहार दिने पत्र लेखेकोमा ल्हासा नगरले उपहारस्वरूप ती सामान दिएको हो । 

ल्हासाले वातावरण स्वच्छतालाई मद्दत गर्न भन्दै उपहार दिएको बताएको छ । ०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न ल्हासा नगरका मेयर गुहेओ गुहेओ आएका थिए । सो अवसरमा उनले काठमाडौं महानगरपालिकालाई दुईवटा ट्रक उपहार दिने बताएका थिए ।

उपहारस्वरूप दिएको ट्रकको मूल्य १० लाख ६० हजार युआन (करिब एक करोड ९० लाख रुपैयाँ) हो । 

ल्हासाबाट पैदल मार्गबाट ल्याइएका ट्रकहरू मंसिर १४ गते साँझ खासा मितेरी पुल ल्याइपुऱ्याइएको थियो । 

१५ गते ल्हासा नगरको अन्तर्राष्ट्रिय मामिलाका अधिकारीहरूले काठमाडौं महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयलाई हस्तान्तरण गरेका थिए । 

त्यस अवसरमा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम बसेल, वित्त विभागबाट उपनिर्देशक प्रवीण प्याकुरेल, विपत् व्यवस्थापन विभाग नगर प्रहरी नायव उपरीक्षक विष्णु जोशी, चालक बलराम चचामु र दीपक वैष्णव सहभागी थिए । 
ती ट्रकहरू मंसिर १६ गते काठमाडौं ल्याइपुऱ्याइएका हुन् ।

आइतबार महानगरका प्रमुख शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गरेका थिए । 

त्यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले मेयर शाक्यलाई ट्रकको साँचो हस्तान्तरण गरेका  हुन् ।

१९० हर्ज पावरको इञ्जिन भएको ट्रक आठ गेयरमा चल्छ । सात हजार दुई सय पाँच किलोग्राम फोहोर कम्प्रेस गरेर बोक्नु यसको मुख्य विशेषता हो । 

संकलित फोहोरलाई पछाडिको बकेटमा राखेपछि मेसिनले फोहोरलाई बिस्तारै उचाल्न थाल्छ । त्यसपछि कम्प्रेस्ड मेसिनबाट फोहोर खाँदिन थाल्छ । यसको क्षमता पूरा भएपछि आफैँ आवाज दिन थाल्छ ।

सुझावित समाचार