एन्टिजिन परीक्षणलाई पिसिआरको विकल्पको रूपमा प्रयोग गर्न नहुने विज्ञहरूले बताएका छन् ।
एन्टिजिनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा एन्टिजिनलाई पिसिआरको विकल्पको रूपमा प्रयोग गर्न नहुने विज्ञहरूले बताएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का खोप विज्ञ डा. तीर्थ घिमिरेले पिसिआरले भाइरसभित्र रहेको अणुवंशिक पदार्थलाई सजिलै चिन्ने तर एन्टिजिनले भाइरसका टुक्राटुक्रीलाई मात्रै चिन्ने विशेषता हुने भएकोले यसबाट फल्स रिपोर्टसमेत आउने भएकाले यसलाई पिसिआरको विकल्पमा लिन नहुने बताए ।
एन्टिजिन टेस्ट गर्दा कहिलेकाहीँ कोभिड– १९ संक्रमण भएकालाई नभएको र नभएकालाई भएको रिजल्ट दिने भएकाले यसलाई पिसिआरको विकल्पमा प्रयोगमा ल्याउन नहुने डा. घिमिरेले बताए । उनले भने, ‘पिसिआरको विकल्पमा एन्टिजिन टेस्ट हुन सक्दैन । पिसिआर भनेको हाइली एडभान्स टेक्नोलोजी हो । पिसिआर एउटा कन्नफमेटरी अर्थात् कोभिड छ भनेर पकका गर्ने अथवा छैन भनेर पक्का गर्ने विधि हो । तर, यो एन्टिजिन परीक्षण कन्फर्म परीक्षण होइन । यसमा के छ भन्दा फल्स पोजेटभ अथवा फल्स नेगेटिभ नतिजा आउन सक्छ । त्यो भनेको मेरो शरीरमा कोभिड– १९ नहुँदा नहुँदै पनि कहिलेकाहीँ देखाइदिने र कोभिड– १९ छ भने पनि नदेखाइदिने एन्टिजिन परीक्षणले गर्छ ।’
एन्टिजिन परीक्षण सस्तो, छिटो र सजिलो छ भन्दैमा पिसिआरको विकल्पको रूपमा प्रयोग गर्न नहुने विज्ञहरूको तर्क छ ।
एन्टिजिनलाई अत्यावश्यक अवस्थामा मात्रै प्रयोग गर्नसकिने डा. घिमिरे बताउँछन् । त्यसबाहेक समूहमा बसोवास गर्नेहरूमा यसबाट परीक्षण गरी स्थितिबारे जानकारी लिन सकिने पनि डा. घिमिरेले बताउँछन् ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं माइक्रो बायोलोजिस्ट मेघराज बन्जाराले एन्टिजेन परीक्षण परीक्षणकै रूपमा रहेकाले अहिले नै पिसिआरको विकल्पमा प्रयोग गर्न नहुने बताए । उनले भने, ‘यो एन्टिजेन परीक्षण परीक्षणकै क्रममा रहेकोले प्रयोग गर्न हुन्छ वा गर्नुहुन्न भन्ने अवस्थामा म छैन । तर, यसको नतिजालाई पिसिआरको नतिजासँग तुलना गरेर यदि यसको पर्फर्मेन्स पनि, सेन्सेटिभिटी, स्पेसिफिसिटी पनि विश्व स्वास्थ्य संगठनले दिएको मार्गदर्शनअनुसारको र हाम्रो देशमा परीक्षण गर्दापनि रियल टाइम पिसिआर जत्तिकै सेन्सेटिभ भयो भने यसलाई प्रयोग गर्न सकिन्छ ।’
अहिले प्रयोगमा आएका एन्टिजेन टेस्टहरू कुनै पनि आधरिकारिक निकायबाट प्रमाणित भइसकेको छैन । अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले पनि आपतकालीन स्वीकृत मात्रै दिएको बन्जाराले बताए ।
बन्जाराका अनुसार अहिले सबै ठाउँमा एन्टिजिन परीक्षण परीक्षणकै रूपमा रहेको र यसको नतिजा उच्च संवेदनशील, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य संगठनले ८० प्रतिशतभन्दा बढी सेन्सेटिभिटी भयो भनेर प्रमाणित गऱ्याे भने मात्रै पिसिआरको विकल्पमा प्रयोग गर्न मिल्छ ।
उनले भने, ‘यो एन्टिजिन टेस्ट पनि एफडिए स्वीकृत भएका, सिडिसी स्वीकृति भएका, सिएबाट स्वीकृति भएका यस्ता एन्टिजिन टेस्ट गर्ने टेस्टहरू त्यति छैनन् । अरू एफडिएहरूले पनि आपतकालीन स्वीकृति मात्रै दिएका छन् । सबै परीक्षणको क्रममै रहेका छन् । तर, यदि एन्टिजिन परीक्षण, उच्च संवेदनशील, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य संगठनले त्यस्ता टेस्टहरूको सेन्सिटिभिटी ८० प्रतिशतभन्दा माथि हुनुपर्छ भनेको छ र त्यस्ता टेस्टहरू आए भने रियलटाइम पिसिआरको विकल्प हुन सक्छ । अहिले परीक्षणको रूपमा भएको हुनाले विकल्प भएन । रियल टाइम पिसिआर नै सबैभन्दा भरपर्दो डाइग्नाेसिस गर्ने माध्यम भयो ।’
सरकारले भने कोभिड–१९ संक्रमणको पहिचानका लागि भन्दै एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण सुरु भएको हो ।