नेकपा स्थायी कमिटी बैठक सुरु गर्न अध्यक्ष एवं प्रधानमन्त्री ओलीको प्रतीक्षा गरिँदै

आइतबार, २१ मंसिर, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु गर्न अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको प्रतीक्षामा अन्य रहेका छन् । 

काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठकका लागि अरू सदस्यहरू आइपुगेको भए पनि प्रधानमन्त्री ओली नआइपुगेका कारण प्रतीक्षा गरिरहेको एक सदस्यले जानकारी दिए । 

यस बैठकमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले बेग्लाबेग्लै रूपमा राखेका राजनीतिक प्रतिवेदनबारे छलफल हुने एक सदस्यले जानकारी दिए । 

यसअघि दुवै अध्यक्षले पार्टीको सचिवालय बैठकमा आ–आफ्नो प्रतिवेदन राखेका थिए । जसमा उनीहरूले एक–अर्कामा व्यक्तिगत आक्षेपहरूसमेत लगाएका छन् । 

नेकपाको स्थायी कमिटीमा कुल ४५ सदस्य रहने व्यवस्था छ ।

जसमा सभामुख भइसकेपछि अग्निप्रसाद सापकोटाले राजीनामा दिएका छन् ।

त्यसैगरी यौन दुर्व्यवहारको आरोपपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई अझैसम्म पनि स्थायी कमिटी सदस्यमा पुनर्वहाली गरिएको छैन । यसरी हेर्दा अहिले ४३ जना सदस्य रहेको स्थायी कमिटी रहेको छ । 

सुझावित समाचार