नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित

आइतबार, २१ मंसिर, २०७७
डिजिटल संस्करण

नेकपाको स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ। तर, बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली अनुपस्थित छन् । 

प्रधानमन्त्री ओली बालुवाटारमै छन् ।  पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकको अध्यक्षता गरिरहेका छन्। दिउँसो एक बजे बोलाइएको बैठक आधा घण्टा ढिलागरी सुरु भएको हो ।

शनिबार बसेको सचिवालय बैठकले दुवै अध्यक्षका प्रस्तावलाई स्थायी कमिटीमा लैजाने निर्णय गरेअनुरूप आजकाे बैठक बाेलाइएकाे हो ।

शनिबार बसेको सचिवालय बैठकले ओलीको असहमतिबीच आइतवार स्थायी कमिटी बैठक र त्यसका एजेन्डा तय गरेको थियो ।

ओलीले सचिवालय बैठकमा सहमति जुटाएर मात्र स्थायी कमिटी बैठक बोलाउनुपर्ने अडान राखेका थिए । तर, बहुमत सदस्यले विवादको समाधान स्थायी कमिटीमै छलफल गरेर खोज्ने अडान राखेपछि आइतवारका लागि बैठक तय भएको हो । 

पार्टीभित्रको विवाद टुंग्याउन तथा सचिवालयमा दुई अध्यक्षले पेश गरेको फरक फरक प्रतिवेदनमाथि छलफलका लागि स्थायी कमिटी बैठक बोलाइएको हो।

आजको बैठकमा दुवै अध्यक्षका प्रतिवेदन र पत्र वितरण गरिनेछ । त्यसपछि सदस्यहरुलाई अध्ययनका लागि केही दिन समय दिएर अर्को बैठकको मिति तय हुने बताइएको छ । बैठकको बिचमा अनौपचारिक संवाद भने अगाडि बढाइने नेताहरुले बताएका छन् । 

त्यसैबीच स्थायी कमिटी बैठक स्थल रहेको केन्द्रीय कार्यालय आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ । मंगलवारको सुरक्षा खतराको कारण देखाएर धुम्वाराहीमा बस्ने भनिएको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सारिएको थियो ।

सुझावित समाचार