सिनेमाको पोस्टर टाँस्नेका व्यथा

शुक्रबार, १९ मंसिर, २०७७
डिजिटल संस्करण

कोरोना कहरले रोजगारी गुमेपछि ८० प्रतिशत सिनेमा पोस्टर टाँस्ने पेसामा आबद्धले काठमाडौं छाडे, नयाँ सिनेमा रिलिजको पर्खाइमा

सहरका भित्ता, बिजुलीका खम्बा र चोकहरूमा देखिने सिनेमाका पोस्टर हिजोआज देखिँदैनन् । पोस्टरहरू टाँसिने ठाउँहरू खाली छन् । कोरोना कहर सुरु भएसँगै सिनेमाको पोस्टर टाँस्ने काम बन्द भएपछि देखिन छाडेका हुन् । सिनेमा हल बन्द भएपछि चलचित्र रिलिज हुन छाडेका छन् । लामो समयसम्म सुटिङसमेत बन्द भयो । केही दिनयता फाट्टफुट सुटिङ सुरु हुन थालेका छन् । तर पनि प्राविधिकहरूले काम पाइरहेका छैनन् । वर्षौं यस क्षेत्रमा बिताएका सयौँ प्राविधिकहरू बेरोजगार बनेका छन् । हल बन्द भएकाले पोस्टर टाँस्ने पेसामा आबद्ध मान्छेहरू पनि कामविहीन हुन पुगेका छन् । 

१७ वर्ष भयो सिन्धुपाल्चोकका राजु भण्डारीले रातभर सहरमा सिनेमाको पोस्टर टाँस्न थालेको । प्रदर्शन हुन लागेका चलचित्रका पोस्टरहरू सहरका गल्ली, चोक र बिजुलीका खम्बामा टाँसेर दर्शकलाई सिनेमा हलसम्म डोर्‍याउनु उनको काम थियो । यहीँबाट हुने आम्दानीले भण्डारीको घरपरिवार चलेको थियो । तर, गत ११ चैतमा कोरोना भाइरसका कारण सरकारले लकडाउन घोषणा गरेपछि उनको काम ठप्प भयो । चलचित्रहरूको प्रदर्शन तथा हल बन्द गर्ने सरकारको निर्णयसँगै भण्डारीको काम पनि बन्द भयो । यसपछि भण्डारी आफ्नो घर सिन्धुपाल्चोक गए ।

अहिले घरतिरै बसिरहेका छन् भण्डारी । काठमाडौं कहिले फर्कने हो, उनैलाई थाहा छैन । चाँडै फर्किइएला भन्ने आशा पनि छैन उनको । चलचित्र कहिलेबाट प्रदर्शन हुन सुरु हुन्छन् या त हलहरू कहिलेबाट सञ्चालनमा आउँछन्, त्यसपछि मात्र भण्डारीको काठमाडौं आगमनको अवस्था बन्नेछ । भन्छन्, ‘अहिले फर्किएर के गर्नु ? अवस्था यस्तो छ । काम छैन । काम नभई त्यहाँ कसरी बाँच्नू ?’ भण्डारीले यसको अलवा अरू पेसाबारे सोचेनन् । अहिले आएर उनलाई पछुतो पनि लाग्छ वैकल्पिक पेसाबारे नसोचेकोमा । तर, उमेर धेरै भइसक्यो, अब अन्य पेसा अपनाउन पनि सकिँदैन कि लाग्छ उनलाई ।

अवस्था यस्तो विषम नबनेको भए भण्डारी रातको ९ बजेदेखि बिहान ४ बजेसम्म सहरका विभिन्न ठाउँमा पोस्टर टाँसिरहेका हुन्थे । निद्रा छाडिदिन्थे, जाडोलाई बिर्सिदिन्थे । तर, यसको बदलामा उनको घर चल्थ्यो । नयाँ बानेश्वरको कोठाभाडा तिर्थे । महँगी नै भए पनि घरमा खानेकुराको जोहो हुन्थ्यो । ‘निद्रा माया मारेर भए पनि मेरो परिवार त चल्थ्यो, अहिले त त्यही काम सकियो,’ भण्डारी सुनाउँछन्, ‘अब त्यहाँ बाँच्नका लागि केही न केही काम चाहियो । अरू काम केही जानेको छैन । अनि त्यहाँ आएर के गर्नु ?’

.......

अहिले पोस्टर टाँस्ने पेसामा आबद्ध धेरै मान्छे काठमाडौंबाहिर छन् । लकडाउन सुरु भएपछि गएका उनीहरूको काठमाडौं फिर्ने अत्तोपत्तो छैन । सहर आएर अरू काम गर्न उनीहरूसँग अनुभव पनि छैन । अनुभवविनाको क्षेत्रमा काम गरेर परिवार पाल्न सकिने अवस्था बन्न सक्दैन । कहिले हल खुल्ला या चलचित्र प्रदर्शन सुरु होलान्, सबै त्यसैको पर्खाइमा छन् ।

हामीसँग तीन पुस्तादेखि काम गरिरहेका कर्मचारीहरू हुनुहुन्छ । उहाँहरू परिवार हो हाम्रो । उहाँहरूलाई लकडाउनयता पनि हामीले सक्ने सहयोग गरिरहेका छौँ । अहिले अवस्थै यस्तो छ, निर्माताहरूको ब्याज, हल सञ्चालनका भाडा, हलका उपकरणमा आएका समस्यालगायत यावत् विषयले हामी आक्रान्त छौँ । यसबारे सरकार गम्भीर बनिदिनुपर्छ । - मधुसूदन प्रधान, अध्यक्ष, नेपाल चलचित्र संघ

झापाका राजेश डिकेले ३१ वर्ष भइसक्यो यो सहरमा बिताएको । तीन दशकसम्म मुख्य रूपमा पोस्टर टाँस्ने काम गरेरै घरपरिवार चलाए । तर, भण्डारीको जस्तै डिकेको पनि कथा फरक छैन । गुह्येश्वरीमा परिवारसँग बसिरहेका उनको पीडा पनि कामकै छ । काम ठप्प छ । परिवार कसरी चलाउने, त्यसैको तनावमा छन् । ‘तनाव घरपरिवार कसरी चलाउने, त्यसैको छ । यस्तोवेला कसले सहयोग गर्ला र,’ ४८ वर्षका डिके भन्छन्, ‘पैसै नभएको त होइन, तर काम गरेको कति पैसा उठ्न बाँकी छ । ती पैसा सम्झिएर मान्छेहरूले दिए त केही सहज हुने थियो नि ! तर, फोनसम्म त उठाउँदैनन् ।’

केही समयअघि नेपाली चलचित्र ‘रणवीर’ प्रदर्शन भएको थियो । चलचित्र बक्स अफिसमा असफल भयो । तर, सुरुवातमै पोस्टर टाँस्ने काम गरेका नुवाकोटका रमेश तामाङले पैसा पाएनन् । अहिले निर्मातालाई फोन गर्दा फोन उठाउँदैनन् । न कुनै प्रतिक्रिया दिन्छन् । लकडाउनका कारण समस्यामा परेको थाहा पाएर पनि फोन नउठाउँदा या सोधखोज नगरिदिँदा यो क्षेत्रप्रति नै वितृष्णा पालाएको छ तामाङको । तामाङसँग पैसा नपाएका चलचित्रको सूची लामै छ । त्यसका निर्माता या वितरकको लिस्ट पनि लामै छ । यस्तोवेला उनीहरूले सम्झिएर पीडा बुझिदिए पनि हुने भन्ने लाग्छ तामाङलाई । भन्छन्, ‘अरूवेला नसम्झिए पनि यस्तोवेला सम्झिए त हुने नि । उनीहरू एउटा चलचित्रका लागि करोडौँ खर्च गर्छन्, हाम्रो पैसा त करोडौँ हुँदैन नि !’ लकडाउन सुरु भएपछि गत वैशाखमै तामाङले स–परिवार काठमाडौं छाडे । अहिले घरतिरै बसिरहेका तामाङको काठमाडौं फिर्ने सम्भावना पनि भण्डारीकैजस्तो छ । पर्खाइ एकै कुराको छ, चलचित्र प्रदर्शन र हल सञ्चालन कहिले होला ? जहिले हल सञ्चालनमा आउँछन्, त्यसपछि बसको टिकट काटेर काठमाडौं आउने सोच छ उनको ।
......

नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान सबै कुरा खुल्ला गरेर, लामो दूरीका सवारीसाधन सञ्चालन गरेर पनि हलहरू सञ्चालन गर्नेबारे सरकारले निर्णय नलिइदिनु आफैँमा तनावपूर्ण विषय रहेको बताउँछन् । यसबारे सरकारले चाँडै निर्णय लिएर आफूहरूलाई हल सञ्चालन गर्ने अनुमति दिनुपर्ने र अहिलेको यो विषम परिवेशबाट सबैलाई सामान्य जनजीवनतिर जाने बाटो खोलिदिनुपर्ने बताउँछन् । भन्छन्, ‘हामीलाई भिडभाड बढी हुने भनेर सरकारले विशेष प्राथमिकतामा राखेर हलहरू बन्द गर्ने आदेश दियो । तर, अहिलेसम्म आइपुग्दा हाम्रो अवस्था खराब भइसकेको छ । हामीले सुरक्षाका सबै संयन्त्र अपनाएर हल सञ्चालन गर्छौं भनेर सरकारलाई भनिसकेका छौँ । सरकारले यसबारे चाँडो निर्णय लिइदिनुपर्छ ।’

पोस्टर टाँस्ने, हलमा काम गर्ने कर्मचारीहरूलाई आफूहरूले सक्दो गरिसकेको बताउँछन् प्रधान । हलहरू बन्द हुँदा पनि आफूहरू जिम्मेवारीबाट नपन्छिएको उनको भनाइ छ । तर, अवस्थै यस्तो बनेकाले आफूहरूले सक्नेभन्दा बढी गर्न नसकिने भट्टराईको धारणा छ । ‘हामीसँग तीन पुस्तादेखि काम गरिरहेका कर्मचारीहरू हुनुहुन्छ । उहाँहरू परिवार हो हाम्रो । उहाँहरूलाई लकडाउनयता पनि हामीले सक्ने गरिरहेका छौँ,’ उनी भन्छन्, ‘अहिले अवस्थै यस्तो छ, निर्माताहरूको ब्याज, हल सञ्चालनका भाडा, हलका उपकरणमा आएका समस्यालगायत यावत् विषयले हामी आक्रान्त छौँ । यसबारे सरकार गम्भीर बनिदिनुपर्छ ।’

नेपाली चलचित्र क्षेत्रमा काठमाडौं उपत्यकामा मात्रै दुई दर्जनभन्दा बढी पोस्टर टाँस्ने मान्छेहरू सक्रिय छन् । काठमाडौंबाहिरको संख्या पनि जोड्ने हो भने सय नाघ्छ । तर, सबैको अवस्था र पीडा उस्तै छ । काठमाडौंमा पोस्टर टाँस्ने काम गर्नेहरू ८० प्रतिशतभन्दा बढीले काठमाडौं छाडिसकेका छन् । यहाँ बाँच्ने अवस्था गाह्रो बनेपछि नै घरतिर गएको उनीहरूको भनाइ छ । भण्डारी भन्छन्, ‘अब अवस्थै राम्रो नबनी कसरी आउने ? के खाएर त्यहाँ बाँच्ने ?’

See More On

सुझावित समाचार