काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंह भन्छन्, ‘धुम्बाराही मात्रै होइन, सिंगो काठमाडौं सुरक्षित छ’

बुधबार, १७ मंसिर, २०७७
डिजिटल संस्करण

सत्तारुढ नेकपाले मंगलबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएको बैठक अन्तिम समयमा ‘सुरक्षा थ्रेट’ भन्दै प्रधानमन्त्रीनिवास बालुवाटार सारियो ।

तर, काठमाडौं प्रहरीले भने धुम्बाराही मात्रै होइन, सिंगो काठमाडौं पूर्ण सुरक्षित रहेको जनाएको छ । ‘सुरक्षाको कारण देखाएर नेकपाको सचिवालय बैठक धुम्बाराहीमा नबसेको भन्ने कुरा के हो ठ्याक्कै मलाई थाहा भएन ।

तर, नेकपाको पार्टी कार्यालयमा कुनै सुरक्षा जोखिम छैन,’ काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले भने, ‘सुरक्षा दिन हामी सक्षम छौँ । धुम्बाराही मात्र होइन, सिंगो काठमाडौं सुरक्षित छ ।’

मंगलबार बिहानै महासचिव विष्णु पौडेलले धुम्बाराहीमा तय भएको बैठक बालुवाटारमा बस्ने सूचना सचिवालयका नेताहरूलाई दिएका थिए । तर, अध्यक्ष प्रचण्डले पूर्वनिर्धारित कार्यक्रमअनुसार बैठक पार्टी कार्यालयमै बस्ने अडान लिए ।

त्यसको केहीबेरमा पौडेलले ‘सुरक्षा थ्रेट’का कारण बैठक बालुवाटारमै बस्ने जानकारी गराएका थिए । गृह मन्त्रालयको सिफारिस त्यस्तै रहेको उनको भनाइ थियो । शनिबार बसेको सचिवालयले मंगलबारको बैठक धुम्बाराहीमा गर्ने निर्णय गरेको थियो ।

सुरक्षा निकायले भने पार्टी कार्यालयमा बैठक नबस्नुका पछाडि दुई कारण हुन सक्ने अनुमान गरेको छ । पहिलो, स्वास्थ्य मापदण्ड पालनामा कठिनाइ हुने भएकाले । दोस्रो, खुला ठाउँ भएका कारण कार्यकर्ताबाट नाराबाजी हुन सक्ने भएकाले पनि प्रधानमन्त्री बालुवाटारबाट बाहिर निस्कन नचाहेका हुन् । 

सुझावित समाचार