फल्स च्याम्बर राखेर तेल चोरी गर्ने चालक पक्राउ

आइतबार, १४ मंसिर, २०७७
डिजिटल संस्करण

थानकोट डिपोमा पेट्रोल लिएर आएका दुईवटा ट्यांकरमा फल्स च्याम्बर राखी करिब एक–एक हजार लिटर पेट्रोल चोरी गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा अमलेखगन्ज बस्ने सहोदर दाजुभाइ विकेश लामा र अजय लामा रहेका छन् । विकेश ना.७ख २९९५ र अजय ना.७ख ३६९६ नम्बरको ट्यांकरचालक हुन् ।

उनीहरू दुवैलाई महारागन्ज क्षेत्रबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जानकारी दिएको छ । उक्त चोरी घटनाको सिआइबीले अनुसन्धानसमेत अघि बढाएको छ । दाजुभाइ मिलेर विगत एक महिनादेखि दुवै ट्यांकरको ३ नम्बर च्याम्बरभित्र करिब एक हजार लिटर तेल अटाउने अर्को सानो ट्यांकी (फल्स चेम्बर) बनाई तेल चोरी गर्दै आएका थिए । 

विशेष सुराकीका आधारमा ३ मंसिरमा दुवै ट्यांकरलाई समातेर निरीक्षण गर्दा दाजुभाइको चोरी धन्दा पुष्टि भएको थियो । आयल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटका प्रमुख प्रदीप यादवले दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएकाले घटनाबारे विवरण प्रहरीको अनुसन्धानपछि आउने अपेक्षा गरेको बताए । ‘यसपटक इन्धन चोरीको बिल्कुलै नयाँ घटना देखियो । त्यसैले यसको छानबिन केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई गर्न आग्रह गरेका छौँ,’ उनले भने, ‘सिआइबीले छानबिन सुरु गरिसकेको छ । थानकोट डिपोमा आएर प्रहरीले सोधपुछ गर्ने, ट्यांकरको निरीक्षण पनि गरेको छ,’ उनले भने ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी रिफाइनरीबाट पेट्रोल लिएर आएको ट्यांकरमा पछिल्लो समय चोरी घटना बढेका छन् । त्यसैक्रममा २०–२० हजार लिटर पेट्रोल लिएर आएका ट्यांकरको चोरी पुष्टि भएको हो ।

थानकोट डिपो प्रमुख यादवका अनुसार महिना दिनअघिबाटै दुवै ट्यांकरको तेल परीक्षण गर्दा ठीक देखिने, तर भण्डारणगृहमा राख्दा कम आइरहेको थियो । ‘त्यसपछि मैले यी ट्यांकरमा के समस्या रहेको हो भन्ने कुरा पत्ता लगाउन सुराकी खटाएँ । सुराकीले समस्या पत्ता लगाएर मलाई कात्तिक अन्तिमतिर जानकारी दिएका थिए,’ उनले भने ।

ट्यांकरमा रहेको च्याम्बरभित्र सानो ट्यांकी बनाई तेल चोरी गरेको पत्ता लागेपछि सुरुमा अचम्मित बनेको उनले बताए । ‘सुरुमा त मलाई विश्वास नै लागेन । किनभने अर्को ट्यांकी बनाउन चेम्बरभित्र वेल्डिङ गरी पार्टेसन गरिएको छ । यसरी पनि ड्राइभरहरूले तेल चोर्लान् भनेर चिताएकै थिएनौँ,’ उनले भने ।

सुराकीले जानकारी दिएपछि दुवै ट्यांकरलाई एकैपटक समात्ने योजना बनाएको उनले बताए । ‘एउटा ट्यांकर तेल लिएर तिहारअघि नै डिपो आयो । त्यसको तेलको गुणस्तर परीक्षण गर्न प्रयोगशालाको कर्मचारीलाई अह्राएँ,’ उनले भने, ‘तेलको गुणस्तर ठीकै आयो, तर मैले कर्मचारीहरूलाई तेलको गुणस्तरमा कैफियत आएकाले थप परीक्षण गर्नुपर्ने कुरा ड्राइभरलाई भन्नु भने । उनीहरूले त्यसै गरे । तेलमा मिसावट नगरेको कारण ड्राइभर ढुक्क भएर घर गए । ट्यांकर भने डिपो परिसरमै खडा गरेर राखियो ।’

तिहारपछि अर्को ट्यांकर पनि पेट्रोल लिएर आएको सूचना यादवकहाँ पुग्यो । उनी त्यतिवेला तिहार बिदामा जनकपुर थिए । ‘अर्को ट्यांकर पनि आयो भन्ने जानकारी पाउनासाथ सो ट्यांकरको तेल ढिला गरी (२–३ बजेतिर) परीक्षण गर्ने गरी ड्राइभरलाई कुर्न लगाएँ ।  त्यसपछि केन्द्रीय कार्यालय र डिपोमा रहेका आर्मी अफिसरहरूलाई घटनाबारे जानकारी गराएर सुरक्षा व्यवस्था चुस्त बनाइयो,’ उनी भन्छन् ।

सुरुमा दुवै ट्यांकरको तेल परीक्षण गर्दा एउटा चेम्बरमा चार हजार लिटर पेट्रोल नै भेटियो । त्यसैले ड्राइभरहरू निसंकोच थिए । तर, जब सुराकीले भनेजस्तो फल्स चेम्बरको खोजी थालियो । त्यसपछि ड्राइभरहरू भागेका थिए । तेल खन्याएर चेम्बरको परीक्षण गर्दा तीन नम्बरको चेम्बरसँगै अर्को सानो ट्यांकी बनाएर तेल अपचलन गरेको भेटिएको थियो ।
३ मंसिर साँझ घटना पुष्टि भएपछि सो दिन ट्यांकर सिल गरेर राखिएको थियो । भोलिपल्ट (४ मंसिर) आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमर पौडेल, गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलगायत प्राविधिक टोली पुगेर ट्यांकरको निरीक्षण गरेका थिए ।

‘अहिले दुवै ट्यांकर डिपो परिसरभित्रै खडा गरेर राखेका छौँ, थप कारबाही प्रक्रिया अघि बढाइएको छ,’ यादवले भने । डिपो प्रमुख यादवले दुवै ट्यांकरलाई १५ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको बताए । गुणस्तर तथा नापतौल विभागले समेत अलग्गै कारबाही गर्ने गृहकार्य गरिरहेको छ ।

विभागका महानिर्देशक पुडासैनीले च्याम्बरमा पार्टेसन गरी तेल चोरी गरेको अभियोगमा तीन वर्षसम्म जेल र ३० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ । ‘विभागमातहतको प्रादेशिक कार्यालयले कारबाही प्रक्रिया अघि बढाइरहेको छ,’ उनले भने ।

तेल चोरी घटनामा चालकहरू समातिए पनि ट्यांकरका साहु छानबिनको दायरामा आएका छैनन् । चोरी घटनामा प्रयोग भएको ट्यांकरहरू वीर बेताल आशीर्वाद कम्पनीका हुन् । यो कम्पनीको सञ्चालक प्रज्ज्वलराज भट्ट, दीपेन्द्रबहादुर बम र सदेन व्यञ्जनकार हुन् । ट्यांकर साहुको संलग्नताविना च्याम्बरलाई पार्टेसन गरी तेल चोरीको आँट गर्न चालकहरूले नसक्ने कर्मचारीहरू बताउँछन् ।

‘यो चोरी घटनामा ट्यांकर साहुहरूको प्रत्यक्ष संलग्न रहेको हुनुपर्छ । नत्र चालकहरूले मात्र ट्यांकरलाई नै मोडिफाई गरी तेल चोरी गर्ने हिम्मत गर्दैनन् । त्यसैले उनीहरूलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ,’ निगम स्रोत भन्छ । साहुलाई छाडेर चालकहरूलाई मात्र कारबाही गर्दा यस्ता घटना दोहोरिरहने स्रोतको भनाइ छ ।

पछिल्लो तीन महिनामा तेल चोरीका घटना एकपछि अर्को गर्दै बाहिरिएका छन् । ती घटनामा चालकलाई मात्र कारबाही भइरहेको छ । जसकारण चोरी घटना नियन्त्रण हुन सकेको छैन ।

सुझावित समाचार