किसानलाई खाद्यमा धान बेच्न सास्ती, पालो कुर्दैमा हैरान

आइतबार, १४ मंसिर, २०७७
डिजिटल संस्करण

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डिपोमा धान बिक्री गर्ने किसानको भिड लाग्न थालेको छ । 

भिड बढ्दा धान बिक्रीका किसानले लागि तीन–चार दिनसम्म पालो पाउन सकेका छैनन् । 

धनगढीको मोहनपुरमा रहेको खाद्यको डिपोमा पुगेका किसानले चार दिनसम्म धान बेच्ने पालो नपाएको गुनासो गरेका छन् ।  

कञ्चनपुरको बेलौरी नगरपालिका– ८ का किसान खेमानन्द राना तीन दिनदेखि खाद्यको गोदामको गेटमा धान राखेर पालो पर्खिरहेका छन् । 

आफ्नै ट्याक्टरमा ३० क्विन्टल धान लिएर आएका उनी राति ट्याक्टरमै सुत्छन् । धान छोडेर घर फर्कने अवस्था पनि नरहेको उनले बताए ।

‘टाढा भएकाले घर जाने अवस्था पनि छैन । ट्रयाक्टर र धान छोडेर कसरी जानु ?’ उनले भने, ‘राम्रो मूल्य पाइने आसले आएको, निकै सास्ती पाइयो ।’ खान र बस्नको समस्या भएको उनले बताए । ३० बिघामा खेती गर्दै आएका उनी ट्रयाक्टर थ्रेसिङको काम पनि गर्छन् । 

बेलौरीकै भागीराम राना पनि धान बेच्ने पालो कुरेर तीन दिनदेखि गोदाममै बसेका छन् । 

स्थानीय व्यापारीले प्रतिक्विन्टल २१ सय रुपैयाँभन्दा बढी मूल्य नदिएपछि उनी १५ क्विन्टल धान लिएर खाद्यको डिपोमा पुगेका हुन् । 

दुई रात ट्रयाक्टरमै सुतेको उनले बताए । मल, बिउ पाउन मात्र नभई उत्पादन गरेको उपज बेच्न पनि किसानले सास्ती खेप्नुपरेको रानाको गुनासो छ । 

‘भोलि शनिबार डिपो बन्द हुन्छ होला । तीन दिन भइसक्यो अहिलेसम्म पालो पाइएको छैन,’ शुक्रबार दिउँसो खाद्यको प्रांगणमा भेटिएका उनले भने, ‘मल लिन लाइनै लाग्नुपर्ने, धान बेच्न पनि लाइन लाग्नुपर्ने । हामी किसानलाई दुःख छ ।’

खाद्यले मोटो धान प्रतिक्विन्टल २७ सय ३५ रुपैयाँमा खरिद गरिरहेको छ । स्थानीय व्यापारीभन्दा राम्रो मूल्य पाएपछि धान बिक्रीका लागि खाद्यको डिपोमा किसानको भिड लागेको छ । 

कञ्चनपुरको सीमावर्ती क्षेत्रबाट पनि किसानहरू धान बिक्रीका लागि धनगढीको डिपोमा आउने गरेका छन् ।

कञ्चनपुरमा महेन्द्रनगरमा मात्र खाद्यको डिपो रहेकाले बेलौरी, पुनर्वास र कृष्णपुर नगरपालिकाबाट किसान धान बिक्री गर्न आइरहेका खाद्यले जनाएको छ । 

धान बेच्ने पालो पाउन ढिलो हुँदा कतिपय किसान गोदामको प्रांगणमा धानको थुप्रोमै सुत्ने गरेका छन् । 

धनगढीमा भन्दा टीकापुरको डिपोमा किसानको बढी भिड रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीमा प्रमुख अनिलकुमार श्रेष्ठले बताए । जनशक्तिको कमी र धान राख्ने ठाउँ नहुनुले पनि ढिलो हुँदा किसानले पालो पर्खनुपर्ने अवस्था रहेको उनले बताए ।

खाद्यले कैलालीमा धनगढी, टीकापुर, शक्ति, जोशीपुर, भजनीमा डिपो राखेर धान खरिद सुरु गरेको छ । १७ कात्तिकबाट खरिद सुरु गरिएकोमा हालसम्म करिब २४ हजार क्विन्टल धान खरिद गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । 

खाद्यले यस वर्ष कैलालीमा ६५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । खाद्यले ढिलो गरी खरिद सुरु गरेपछि कतिपय किसानले भने व्यापारीलाई सस्तोमै धान बिक्री गरिसकेका छन् ।

सुझावित समाचार