केन्द्रीय सदस्यमा मिश्रित परिणाम, वरिष्ठ उपाध्यक्ष र एसोसिएटको मतगणना जारी
नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा वस्तुगत समूहबाट अञ्जन श्रेष्ठ तथा जिल्ला–नगर समूहबाट दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । दुवैजना किशोर प्रधान समूहबाट प्रतिस्पर्धामा थिए । कार्यसमितिमा पनि निर्वाचनमा किशोर प्रधान प्यानलको वर्चस्व देखिएको छ । शनिबार अबेरसम्म भएको मतपरिणामअनुसार जिल्ला–नगर र वस्तुगततर्फ प्रधान प्यानल अघि देखिएको हो ।
अञ्जन भारी मतान्तरले विजयी
वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ भारी मतान्तरले विजयी भएका छन् । श्रेष्ठले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई २५ मतान्तरले हराएका हुन् । वस्तुगततर्फ खसेको कुल ९९ भोटमा विजयी श्रेष्ठले ६२ मत ल्याउँदा पराजित श्रेष्ठले ३७ मत मात्रै प्राप्त गरे । लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठ सफल युवा उद्यमीका रूपमा चिनिन्छन् । उनले नेतृत्व गरेको लक्ष्मी ग्रुपअन्तर्गत डेरी, कन्फेसनरी, स्टिल, अटोमोबाइललगायत उद्योग–व्यवसाय रहेका छन् । नवनिर्वाचित उपाध्यक्ष श्रेष्ठ यसअघि महासंघको उद्योग समितिका सभापति रहेका थिए ।
जिल्ला–नगरमा दिनेशले बाजी मारे
महासंघको जिल्ला–नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । अघिल्लोपटकको चुनावमा जिल्ला–नगरको उपाध्यक्षमा पराजित श्रेष्ठले अहिले सोही पदमा जित हासिल गरेका हुन् । प्रधान प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठले प्रतिद्वन्द्वी गुणनिधि तिवारीलाई ११ मतले पराजित गरेका हुन् । जिल्ला–नगरतर्फ खसेको कुल १ सय ५ भोटमा विजयी श्रेष्ठले ५८ मत ल्याए भने पराजित तिवारीले ४७ मत मात्रै प्राप्त गरे ।
वस्तुगततर्फ यी हुन् विजयी सदस्य
वस्तुगततर्फ मिश्रित नजिता आएको छ । वस्तुगततर्फका १४ कार्यकारी सदस्यमा ७ जना किशोरकुमार प्रधान प्यानल र ७ जना चन्द्रप्रसाद ढकाल प्यानलबाट निर्वाचित भएका हुन् । प्रधान प्यानलबाट वस्तुगततर्फका विजयी उम्मेदवारमा नरेशलाल श्रेष्ठ, सुमितकुमार केडिया, आकाश अधिकारी, प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता र हेमराज ढकाल रहेका छन् । त्यस्तै, प्रधान प्यानलबाट वस्तुगततर्फका सदस्यमा विजयी हुनेमा अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, विष्णुप्रसाद गैरे, सन्दीपकुमार अग्रवाल, शिवप्रसाद घिमिरे र शुकुन्तलाल हिराचन रहेका छन् ।
जिल्ला–नगरतर्फ प्रधान प्यानल हाबी
जिल्ला–नगरतर्फ प्रधान प्यानलका उम्मेदवार बढी विजयी भएका छन् । कुल १८ सदस्यमा प्रधान प्यानलबाट ११ र ढकाल प्यानलबाट ७ जना उम्मेदवार विजयी भएका हुन् । प्रधान प्यानलबाट जिल्ला–नगरतर्फ विजयी हुनेमा अरुण सुमार्गी, कमलकुमार श्रेष्ठ, कमलबहादुर खड्का, कुबिरकुमार श्रेष्ठ, गजेन्द्रकुमार भगत, गोपाल केडिया, तारानाथ घिमिरे, देवकुमार श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ, रामेश्वर मानन्धर र शोभाकान्त पौडेल रहेका छन् । त्यस्तै, जिल्ला–नगरमा ढकाल प्यानलबाट विजयी हुनेमा अमृत भट्टचन, उमेश घिमिरे, किशोरकुमार आचार्य, चक्तबहादुर अधिकारी, डिबी बस्नेत, राजन श्रेष्ठ, सुरकृष्ण वैद्य रहेका छन् ।
प्रदेशमा दुईजना निर्विरोध
प्रदेशतर्फको सदस्यमा दुईजना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश एकबाट राजेन्द्र राउत र प्रदेश दुईबाट विजय साह निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, बागमती प्रदेशबाट सहनलाल प्रधान विजयी भएका छन् । गण्डकी प्रदेशबाट बाबुराम गिरी विजयी भएका छन् । गिरीले ९ मत ल्याए भने उनका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत मात्रै ल्याए । लुम्बिनी प्रदेशबाट जसमेर मियाँ १० मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी हेमराज बन्जाडेले ९ मत मात्रै ल्याए । कर्णाली प्रदेशबाट लालिमान बुढा विजयी भए । उनले ७ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी प्रकाश अधिकारीले ३ मत मात्रै ल्याए । सुदूरपश्चिमबाट पुष्पराज कुमार ८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्वन्द्वी देवबहादुर रोकायले २ मत मात्रै ल्याए ।