साधारणसभाको उद्घाटनमा ३५ जना प्रत्यक्ष र साढे ७ सयभन्दा बढी उद्यमी–व्यवसायी जुममार्फत सहभागी, मतदान गर्न भने कागजमै छाप हान्नुपर्ने
नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभाको उद्घाटन तथा चुनाव प्रचार–प्रसारमा अत्यधिक भर्चुअल माध्यम प्रयोग भएको छ । बन्दसत्रमा पनि महासंघका देशभरका सदस्यहरू जुमबाटै सहभागी भएका थिए । तर, मतदान भने परम्परागत शैलीको बुथबाटै हुँदै छ ।
प्रधानमन्त्री केपी ओलीले बिहीबार बालुवाटारको सानो सभाकक्षबाट महासंघको साधारणसभा उद्घाटन गरे । महासंघको इतिहासमा पहिलोपटक साधारणसभा उद्घाटन र बन्दसत्र भर्चुअल माध्यमबाट भएको हो । कोरोना भाइरस संक्रमणबाट जोगिन भौतिक दूरी कायम गर्नुपर्ने हुनाले महासंघको चुनावमा भिडभाड नगरिएको निर्वाचन समितिले जनाएको छ । महासंघका डेपुटी डाइरेक्टर विदुरचन्द्र लामिछानेका अनुसार बालुवाटारमा भएको उद्घाटन कार्यक्रममा ३५ जना प्रत्यक्ष र साढे ७ सयभन्दा बढी उद्यमी–व्यवसायी जुममार्फत सहभागी भएका थिए ।
यसपटकको साधारणसभाले नयाँ कार्यसमितिसमेत चयन गर्नेछ । निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशीद्वय चन्द्र ढकाल र किशोर प्रधान आ–आफ्ना प्यानलसहित चुनावी मैदानमा छन् । विगतमा एसोसिएट, जिल्ला–नगर र वस्तुगत समूहको चुनाव एकै ठाउँमा हुन्थ्यो । तर, यसपटक भिडभाड कम गर्न छुट्टाछुट्टै भोटिङ हुँदै छ ।
महासंघका डेपुटी डाइरेक्टर लामिछानेका अनुसार शनिबार बिहान ८ देखि साँझ ४ बजेसम्म मतदान कार्यक्रम तय भएको छ । वस्तुगत समूहको निर्वाचन महासंघको सचिवालय टेकुमा हुनेछ भने जिल्ला–नगरको प्रज्ञा प्रतिष्ठान र एसोसिएटको कार्की ब्यांक्वेट बबरमहलमा मतदान हुनेछ ।
बन्दसत्रमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल र किशोर प्रधान, वस्तुगत उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ तथा एसोसिएटका उपाध्यक्ष उम्मेदवार सौरभ ज्योतिले सचिवालयमै उपस्थित भएर सम्बोधन गरे । एसोसिएटका अर्का उम्मेदवार रामचन्द्र संघाई, जिल्ला–नगरका उम्मेदवार गुणनिधि तिवारी र दिनेश श्रेष्ठले भने जुमबाट सम्बोधन गरे ।
यसपटक उम्मेदवारहरूले पनि मतदातासँग भोट माग्न अनलाइन प्लेटफर्म राम्रै उपयोग गरे । फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल व्यवसायीको चुनावमय देखिन्छन् । उम्मेदवारहरूले देशभरका मतदाता व्यवसायीसँग ह्वाट्सएप, जुम, भाइबर, फेसबुक म्यासेन्जर, इमोलगायतबाट भिडियो कल गर्दै भोट मागिरहेका छन् । महासंघको इतिहासमै उम्मेदवारले भोट माग्न यति धेरै सामाजिक सञ्जाल प्रयोग गरेको पनि पहिलोपटक हो ।
कोभिड महामारीका कारण साधारणसभामा अनलाइन प्लेटफर्म प्रयोग भए पनि मतदान गर्न भने अनलाइन प्रणाली उपयोग नहुने भएको छ । मतदाताले विगतजस्तै कागजमा छाप हान्नुपर्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार कोरोना संक्रमित मतदाताका लागि मतदान गर्न छुट्टै बुथ बनाइनेछ ।
६४ पद, १२३ उम्मेदवार
निर्वाचन समितिका अनुसार ६४ पदका लागि दुईवटा प्यानलबाट १ सय २३ जनाको उम्मेदवारी परेको छ । तीमध्ये महिलाको संख्या ५ छ, जुन कुल उम्मेदवारको ६ प्रतिशत मात्र हो । निर्वाचनमा कमला श्रेष्ठ, ज्योत्स्ना श्रेष्ठ, शारदा रिजाल, रेखा घिमिरे र रचना श्रेष्ठले प्रतिस्पर्धा गर्दै छन् । महासंघले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार जिल्ला–नगर समूहतर्फ १८ कार्यकारिणी सदस्यका लागि ३८ जना मैदानमा छन् । यस्तै, एसोसिएटतर्फ १९ कार्यकारिणी सदस्यका लागि ३१ र वस्तुतगत संघतर्फ १४ पदका लागि २८ जनाले उम्मेदवारी दिएका छन् ।
महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवार निर्विरोध चयन भएका छन् । प्रदेश–१ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट सन्दीप अग्रवाल निर्विरोध चयन भएका हुन् ।
कुन प्यानलमा को उम्मेदवार ?
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको अध्यक्ष बन्नेछन् । शनिबार वरिष्ठ उपाध्यक्षदेखि तलका पदहरूमा निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
ढकाल प्यानलबाट जिल्ला–नगर संघतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत संघतर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट समूहतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई उम्मेदवार छन् । यस्तै, प्रधान प्यानलबाट जिल्ला–नगर संघतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत संघतर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति उम्मेदवार छन् ।
ढकाल समूहको वस्तुगततर्फ कार्यकारिणी समिति सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, जयप्रसाद सिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुबोधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, हरि कार्की र सूर्यबहादुर मगर उम्मेदवार छन् ।
प्रधान प्यानलको वस्तुगततर्फ कार्यकारिणी सदस्यमा अरनिको राजभण्डारी, अशोक शर्मा, गोविन्द ढुंगेल, दीपकप्रसाद दाहाल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, रविन पुरी, विप्लवमान सिंह, विष्णुप्रसाद गैरे, शकुन्तलाल हिराचन, शारदा रिजाल, शिवप्रसाद घिमिरे, सन्दीपकुमार अग्रवाल र सुनीलगोपाल श्रेष्ठ उम्मेदवार छन् ।
ढकाल प्यानलको एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा भरत आचार्य, गोपाल खनाल, रामशरण थपलिया, अम्बिकाप्रसाद पौडेल, देशबन्ध बस्नेत (अजित), विनोद ढकाल, सुशील थापा, बाबुकाजी कार्की, कृष्णलाल महर्जन, विराट थापा, सञ्जय गिरी, अविनाश बोहरा, रेखा घिमिरे, वासुदेव गौतम र रामकृष्ण प्रसाईं छन् । यस्तै, प्रधान प्यानलको एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा विजयसिंह वैद्य, रञ्जित आचार्य, कृष्ण दुलाल, राजेश अग्रवाल, साहिल अग्रवाल, आनन्द बगारिया, मंगेशलाल श्रेष्ठ, अशोक टिमानी, सुनीलनारायण श्रेष्ठ, ज्योत्स्ना श्रेष्ठ, प्रबलजंग पाण्डे, शैलेन्द्र गुरागाईं, मदनलाल जोशी, हेमन्त गोल्छा, शक्ति बेगानी र उदीप श्रेष्ठ उम्मेदवार छन् ।
पूर्वअध्यक्षहरू को कता ?
महासंघमा पूर्वअध्यक्षहरू स्वास्थ्यले साथ दिएसम्म आजीवन राजनीतिमा सक्रिय हुने चलनजस्तै छ । प्यानलबीच बढीभन्दा बढी पूर्वअध्यक्षलाई आफ्नो पक्षतिर देखाएर बलियो रहेको सन्देश दिन होडबाजी नै चल्छ । यसपालि ढकाल समूहलाई पूर्वअध्यक्ष चण्डीराज ढकाल, सुरज वैद्य, पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारलगायतको समर्थन छ । प्रधान समूहलाई वर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहित निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्षहरू पद्म ज्योति, कुशकुमार जोशीलगायतले खुलेर समर्थन गरेका छन् ।
महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा जिल्ला–नगर उद्योग वाणिज्य संघका मतदाताको ५० प्रतिशत भार हुन्छ । यस्तै, वस्तुगत संघका मतदाताको २० र एसोसिएट (द्विराष्ट्रिय संघसमेत) को ३० प्रतिशत भार हुन्छ । वरिष्ठ उपाध्यक्षमा जित्नका लागि निर्वाचनमा खसेको कुल मतको कम्तीमा ५० प्रतिशत र थप एक मत प्राप्त गर्नुपर्छ ।
मतदाताले वास्तविक व्यवसायीलाई जिताउनेछन् : चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षका उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ
.jpg'_'.2020-11-28.jpg)
चुनावको तयारी सकिएको छ । अधिकांश मतदाताहरू मतदान गर्न काठमाडौंमा आइसकेका छन्, कस्तो महसुस गरिरहनुभएको छ ?
अहिले अन्तिम चरणको प्रचार–प्रसारको काम भइरहेको छ । जिल्ला–नगर, वस्तुगत र एसोसिएटका साथीभाइसँगै छु । शनिबार मतदान हुँदै छ । म ढुक्क छु । साथीहरूका प्रतिक्रिया, साथ र सहयोगले मलाई ढुक्क बनाएको छ । शनिबार मेरा लागि विशेष दिन हुनेछ ।
प्रचार–प्रसार र अन्य तयारी सकियो होला, प्रतिक्रिया र माहोल कस्तो छ ? कति उत्साहित हुनुहुन्छ ?
प्रचार–प्रसारका काम सबै सकियो । अहिले अन्तिम छलफलहरू भइरहेका छन् । जिल्ला–नगर, वस्तुगत तथा एसोसिएटका साथीहरूले मलाई उत्साहित बनाउनुभएको छ । उहाँहरूको सकारात्मक प्रतिक्रियाले म उत्साहित छु ।
मत परिणाम कस्तो आउने मूल्यांकन गर्नुभएको छ ?
मतदाताले मलाई अत्यधिक मत दिने विश्वास लिएको छु । जिल्ला–नगर, वस्तुगत तथा एसोसिएटकै साथीहरूले मलाई विश्वासका साथ अघि बढाउनुभएको हो । उहाँहरूले नै मलाई उत्साहित बनाउनुभएको छ । आम निजी क्षेत्रको विश्वासका साथ अघि बढेकाले परिणाम निकै राम्रो आउने अपेक्षा छ । जित सुनिश्चित रहेको मूल्यांकन गरेको छु ।
जितका आधार के–के हुन् ?
मलगायत मेरो टिमले सबै प्रदेश र जिल्लामा पुगेर सबै साथीभाइसँग भेट गरेका छाँै, छलफल गरेका छौँ । उहाँहरूले हौसला दिनुभएको छ । मेरो सबै जिल्लामा व्यावसायिक नेटवर्क छ । म सानो व्यवसाय हुँदै कर्पोरेट तहमा पुगेको छु, मसँग सबैखाले व्यवसायको अनुभव छ । वस्तुगत संघका साथीहरूले पनि मलाई सबै क्षेत्रको जानकार भएकाले, व्यावसायिक हकहितमा काम गर्न सक्ने भनेर अगाडि बढाउनुभएको हो । एसोसिएटबाट म अघिल्लोपटक निर्विरोध निर्वाचित भएको हुँ, त्योभन्दा अघि सबैभन्दा बढी भोट ल्याएर जितेको हुँ । सबै साथीहरूले अघि बढ्न भनेका छन्, नेतृत्व लिनुपर्छ भनेका छन्, वास्तविक व्यवसायीले मात्रै निजी क्षेत्रको नेतृत्व गर्नुपर्छ भन्ने आवाज उहाँहरूको छ । यही नै मेरो जितको आधार हो ।
तपाईंका प्रतिस्पर्धीले तपाईंलाई आफूभन्दा जुनियर भएको बताउनुभयो, आफू बढी अनुभवी भएको बताउनुभयो, यसप्रति तपाईंको प्रतिक्रिया केही छ?
किशोर दाइले आफू अभिभावक भएको र अभिभावकत्व गर्न दिनुपर्ने तर्कको जवाफ मैले पनि दिएको हो । सिनियर केका आधारमा ? उमेरले मात्रै सिनियर भइन्छ ? त्यो गलत हो । उमेरभन्दा सम्बन्धित क्षेत्रको ज्ञान ठूलो हो, त्यस क्षेत्रमा लागेको समय हो, सेवा हो । शेखर गोल्छा र भवानी म्याडम पनि चार कार्यकालमा अध्यक्ष हुनुभयो । सबैभन्दा ठूलो कुरा, एजेन्डा हो, कन्टेन्ट हो र आउटपुट दिनुपर्छ ।
अन्तिममा मतदातालाई केही भन्न चाहनुहुन्छ ?
निजी क्षेत्रका लागि असल र परिपक्व नेतृत्व छान्ने अवसर हो । निजी क्षेत्रको पैरवी गर्न सक्ने, महासंघलाई हाँक्न सक्ने नेतृत्वमा पुग्नुपर्छ । म जिल्ला–नगर, वस्तुगत तथा एसोसिएटका प्रतिनिधि र आमउद्योगी–व्यवसायीलाई वास्तविक व्यवसायीलाई जिताउन आग्रह गर्छु, यसर्थ मलाई विजयी गराउन आग्रह गर्छु ।
विजयको माला लगाउन मात्रै बाँकी छ : किशोरकुमार प्रधान, वरिष्ठ उपाध्यक्षका उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ

चुनावको तयारी सकिएको छ । चुनावको काउन्टडाउन चलिरहँदा कस्तो महसुस गरिरहनुभएको छ ?
चुनावमा निश्चित रूपमा विजयी हुन्छु भन्ने आभास भइरहेको छ । मतदातालाई उहाँहरूलाई प्रलोभन दिलाएर विजय हासिल हुँदैन । सधैँ सत्यको जित हुन्छ, सत्य नै स्थापित हुने रीतिरिवाज छ, यस अर्थमा मेरो जित सुनिश्चित छ । विजयको झन्डा फहराउने सत्यले हो, निर्वाचनमा मैले मात्रै होइन, मेरो टिमले नै विजय हासिल गर्नेछ ।
प्रचार–प्रसार र अन्य तयारी सकियो होला, प्रतिक्रिया र माहोल कस्तो छ ? कति उत्साहित हुनुहुन्छ ?
जिल्ला–नगर, वस्तुगत तथा एसोसिएटका सबै साथीहरूको प्रतिक्रिया र माहोलले म उत्साहित भएको छु । अहिलेको महोलले म शतप्रतिशत जित्छु भन्ने देखाएको छ । साथीहरूले जुन उत्साह, माया र प्रेम दिनुभएको छ, यसबाट के सुनिश्चित हुन्छ भने म जितको धेरै नजिक छु । अब विजयको माला लगाउन मात्रै बाँकी छ ।
मत परिणाम कस्तो आउने मूल्यांकन गर्नुभएको छ ?
मैले आफूले मूल्यांकन गर्दा प्रतिस्पर्धा एकदमै कडा छ । तर, कमसेकम ५ प्रतिशत बढी मत ल्याएर म विजयी हुनेछु ।
जितका आधार के–के हुन् ?
मैले निजी क्षेत्रको छाता संगठनमा २८ वर्षदेखि काम गर्दै आएको छु । झन्डै तीन दशकको मेरो मिहिनेतबाट मैले सबैको प्रेम र सद्भाव प्राप्त गरेको छु । इमानदार, निष्ठावान् भएर सेवा गरेको छु । वर्तमान अध्यक्ष, हुनेवाला अध्यक्ष र पूर्वअध्यक्षहरूको मलाई साथ रहेको छ । सबैको साझा मुद्दालाई स्पष्ट रूपमा बोल्ने गरेको छु । मलाई परिवार, हितैसी तथा आमउद्योगी–व्यवसायीको माया र सद्भाव रहेको छ, जसले मलाई उत्साहित बनाएको छ । म केवल म होइन, हामीका रूपमा अघि बढेको छु । यी सबै कुरा मेरा जितका आधार हुन् ।
तपाईंका प्रतिस्पर्धीले तपाईंसँग आफ्नो एजेन्डा छैन भन्नुभएको छ नि ?
उहाँहरूले बुझी–बुझी बुझ पचाएर नचाहिँदो प्रचार गर्नुभएको छ । मैले मेरा १५ वटा एजेन्डा सर्वाजनिक गरिसकेको छु, त्यो सबैलाई थाहा छ । अर्को कुरा, वरिष्ठ उपाध्यक्षले अध्यक्षको एजेन्डामा काम गर्ने हो । अर्थात्, अब आउने वरिष्ठ उपाध्यक्षले शेखरजीको एजेन्डामा काम गर्ने हो । मैले शेखरजीको एजेन्डामा मेरा पनि एजेन्डा थपेको छु । उहाँले के आधारमा मेरो एजेन्डा छैन भन्नुभयो ? यो अचम्मको कुरा छ । मतदाताले बुझेका छन् । कसको के हो भन्ने मतदाताले चिनेका छन्, को कर्तव्यनिष्ठ र स्वार्थविहीन छ भन्ने बुझेका छन् । उहाँहरूले सबै कुरालाई बुझेर, विवेक प्रयोग गरेर आफ्नो अमूल्य मत दिनुहुनेछ ।
अन्तिममा मतदातालाई केही भन्न चाहनुहुन्छ ?
सबै मतदातालाई मेरो एउटै आग्रह के छ भने मैले २८ वर्षदेखि निजी क्षेत्रको सेवा गरेको छु, मतदाता भगवान् हुन् र म पुजारी हुँ, म मेरा देवतालाई मेरो २८ वर्षको सेवाको प्रतिफलस्वरूप अर्को सेवा गर्ने मौका दिनुहुन अनुरोध गर्छु । मलाई देशभरिका उद्योगी–व्यवसायीको सेवा गर्ने अवसर दिनुहुन आग्रह गर्छु । देशको अर्थतन्त्र मजबुत गर्न पाऊँ भन्ने आग्रह छ ।
बुथहरू सुरक्षित बनाएका छौँ : उपेन्द्रकेशरी न्यौपाने प्रमुख निर्वाचन अधिकृत
गृह मन्त्रालयले महासंघको निर्वाचनमा पालना गर्नुपर्ने मापदण्ड तोकेर चिठी दिएको छ । एकपटकमा २५ जना मतदातालाई मात्र भित्र प्रवेश गर्न दिने भनिएको छ । मतदानमा खटिएका निर्वाचन अधिकृत, कर्मचारीहरू सबैले सामाजिक दूरी कायम गरी मास्क र पन्जा लगाएर काम गर्नुहुन्छ । मतदान गर्न आउने मतदाताले पनि अनिवार्य मास्क लगाएको हुनुपर्छ ।
यसपटक अघिल्ला चुनावहरूमा जस्तै निर्वाचन क्षेत्रभित्र भिडभाड गरेर प्रचार–प्रसार गर्न दिँदैनौँ । त्यसमाथि भिडभाड कम गराउन भोट खसाल्ने ठाउँहरू पनि फरक–फरक तोकेका छौँ । कोभिडले मतदाताको संख्या केही घटाउन सक्छ, तर उल्लेख्य मतदान हुनेमा विश्वस्त छौँ ।
हामीले कोभिड संक्रमण फैलिन नदिन बुथहरू पनि सुरक्षित बनाएका छौँ । कोही मतदाता संक्रमित या कन्ट्र्याक ट्रेसिङमा पनि परेका हुन सक्छन् । उहाँहरूलाई कमलादीको प्रज्ञा प्रतिष्ठानमा भोट हाल्न छुट्टै बुथको व्यवस्था गरेका छौँ ।