नेकपामा मनोमानी चल्दैन, विधिप्रणालीमा आएर सबैले निर्णय मान्नुपर्छ : नेता नेपाल

बुधबार, १० मंसिर, २०७७
डिजिटल संस्करण

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपाको विवाद बैठकबाट अन्त्य हुने बताएका छन् । नेकपानिकट नेपाल निजामती कर्मचारी संगठन पर्साको भवन उद्घाटन कार्यक्रममा बुधबार नेता नेपालले बैठकबाटै सबै समस्याको समाधान हुने बताएका हुन् । 

नेकपामा कसैको मनोमानी नचल्ने भन्दै उनले विधिप्रणालीमा आएर सबैले निर्णय मान्नुपर्ने बताए । 
 
नेपालले कर्मचारीले आफ्नो काम इमानदारीपूर्वक गर्न थाले विकासका कामले गति लिने बताए । उनले कर्मचारीहरूले कुनै पनि लोभलालचमा नपरेर निर्धक्क काम गर्दै देश विकासमा सहयोग गर्नु आजको आवश्यकता रहेको औँल्याए । 

उनले विगतको समयजस्तो अहिलेको समय नरहेकाले कसैको दबाब र प्रभावमा नपरी काम गर्नसमेत आग्रह गरे । 

नेता नेपालले देश विकासमा कर्मचारीहरूको मुख्य जिम्मेवारी रहेकाले काम गर्न अवसर पाएको समयमा बोलेर हाेइन, गरेर देखाउन आग्रह गरे । 

सुझावित समाचार