सुदूरपश्चिममा पेट्रोलियम भण्डारण गृह निर्माणका लागि ३० बिघा जग्गाको पहिचान

आइतबार, ७ मंसिर, २०७७
डिजिटल संस्करण
सुदूरपश्चिममा पेट्रोलियम भण्डारण गृह निर्माणका लागि ३० बिघा जग्गाको पहिचान

आइतबार दिउँसो कैलालीको गोदावरी नगरपालिका– ८, स्याउलेस्थि वनभित्रको जग्गा निरीक्षण गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलगायतको टोली । तस्बिर : नयाँ पत्रिका

नेपाल आयल निगमले सुदूरपश्चिम प्रदेशमा ९० दिनलाई पुग्ने इन्धन भण्डारण गृह निर्माणका लागि कैलालीको गोदावरी नगरपालिका– ८, स्याउलेस्थित वनभित्रको जग्गा उपयुक्त रहेको पहिचान गरी प्राप्तिको प्रक्रिया अघि बढाएको छ । 

सरकार र संसदीय समितिले जग्गा प्राप्ति ऐनअनुसार भण्डारण गृहका लागि आवश्यक जग्गाको खोजी गरी जुटाउन निर्देशन दिएअनुसार सार्वजनिक जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाएको निगमले जनाएको छ । आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख चित्तरञ्जन दासले वनभित्र ठूलो मैदानजस्तो देखिने जग्गा भण्डारण गृह निर्माणका लागि उपयुक्त रहेकाले प्राप्तिका लागि आवश्यक गृहकार्य अघि बढाएको बताए ।

‘यो जग्गा पूर्वपश्चिम राजमार्गको अत्तरियाबाट ७.५ किलोमिटर पूर्व–उत्तरमा पर्छ । जंगलभित्र रहे पनि हामीले पहिचान गरेको जग्गामा ठूला रूखहरू छैनन् । यो पर्ती जग्गा हो,’ उनले भने, ‘यहाँ साना बोट–बिरुवा मात्र भएकाले फँडानी गरेर भण्डारण गृह बनाउन कुनै समस्या हुँदैन ।’ सो जग्गा स्थानीय शिवशक्ति महिला सामुदायिक वन समितिअन्तर्गत रहेको छ । आइतबार सो  जग्गाको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल, वन समितिका अध्यक्ष हिरा शाहीलगायतले निरीक्षणसमेत गरेका छन् ।

निरीक्षणका क्रममा जग्गा उपयुक्त देखिएको निगमको कार्यकारी निर्देशक पौडेलले बताए । सो जग्गासम्म पुग्नका लागि राजमार्गबाट पहुँच सडकसमेत छ । तर, कच्ची अवस्थामा रहेको सो सडकलाई भण्डारण गृह बनाउने हो भने स्तरोन्नति गर्नुपर्ने हुन्छ ।

राजमार्गछेउमै र बस्तीबाट टाढा रहेकाले जग्गा उपयुक्त रहेको पौडेलले बताए । ‘यो जग्गा उपलब्ध हुन सके भण्डारण गृहको लागि उपयुक्त छ । अबका दिनमा हामी वन समितिलगायत सबै सरोकारवाला पक्षसँग छलफल गरेर टुंगाेमा पुग्ने प्रयास गर्नेछौँ,’ उनले भने ।

धनगढी डिपोमा अहिले भण्डारण गृहको अवस्था नाजुक छ । त्यहाँ पेट्रोल र मट्टीतेलको समान ७० किलोलिटर, डिजेलको एक हजार पाँच सय ९० किलोलिटर र हवाई इन्धनको ६३ किलोलिटर अटाउने भण्डारण गृह छ । यो भण्डारण गृहले दुई–तीन दिनको माग मात्र धान्ने गरेको छ । त्यहाँ ठूलो क्षमताको भण्डारण गृह बनाई विषम परिस्थितिमा पनि आयात नगरी लामो समयसम्म इन्धन आपूर्ति गर्न सक्षम हुने निगमको योजना छ ।

आयल निगमले चालू आर्थिक वर्ष ०७७–७८ देखि देशभरका सबै प्रदेशमा ९० दिनलाई पुग्ने भण्डारण गृह निर्माणको योजना सुरु गरेको छ । निगमले पोखरास्थित साबिकको डिपो परिसरमै रहेको जग्गामा भण्डारण गृह थपेर योजना कार्यान्वयनको सुरुवात गरिसकेको छ । पोखराबाहेक निगमले हाल झापा, धनुषा र चितवनमा भण्डारण गृह निर्माणको प्रक्रिया अघि बढाइसकेको छ ।

०७२ मा भारतले नाकाबन्दी गरेपछि इन्धनको चरम अभाव भएको थियो । त्यतिवेलादेखि देशभरलाई ९० दिनका लागि पुग्ने भण्डारण गृह निर्माणको बहस सुरु भए पनि चालू आवदेखि कार्यान्वयन सुरु भएको हो । 

आयल निगमले ०५२ सालदेखि भण्डारण गृह विस्तारको काम गरेको छैन । दीर्घकालीन योजनाका काम नगर्दा निगमको हाल देशभर ७१ हजार किलोलिटर इन्धन भण्डारण गृह छ । यो भण्डारण गृहमा रहेको इन्धनले एक सातादेखि १० दिनको मागलाई मात्र धान्न सक्छ ।

सुझावित समाचार