आइतबार सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ ।
पछिल्लो समय लगातार बढ्दै गएको सेयर बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको छ । आइतबार बजार बन्द हुँदा ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
गत साता बिहीबार एकैदिन ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्डलाई आइतबारको कारोबारले तोडेको छ । बजारमा दुई सय एक कम्पनीको ६३ हजार पाँच सय ७० पटकको कारोबारबाट एक करोड ६० लाख ३४ हजार सात सय १७ कित्ता सेयर खरिद–बिक्री भएको छ ।
कारोबार सुरु भएदेखि नै उतारचढाव देखिएको नेप्से परिसूचक कारोबार बन्द हुँदा भने ४ दशमलव ६९ अंकले बढेर एक हजार सात सय ८२ दशमलव ८१ अंकमा बन्द भएको छ । दिनभर नेप्सेमा करिब ५० अंकको उतारचढाव देखिएको छ ।
सेन्सेटिभ परिसूचक पनि दुई अंकले बढेर तीन सय ४५ अंकमा बन्द भएको छ । कारोबारमा आएका समूहमध्ये बैंकिङ, विकास बैंक र अन्य समूहबाहेकका सबै समूहका सूचकहररू घटेका छन् ।
यसअघिका दिनहरूमा व्यापार, बिमा, उत्पादन तथा प्रशोधन र अन्य समूहबाट कमाइरहेका लगानीकर्ताहरू ती क्षेत्रको सेयर बिक्री गरी बैंकतर्फ आकर्षित भएको देखिन्छ । त्यसैले अन्य समूहमा दबाब भइरहँदा पनि बैंकिङ समूह दुई दशमलव २३ प्रतिशतले बढेको छ ।
विकास बैंक शून्य दशमलव ६४ प्रतिशत र अन्य समूह शून्य दशमलव १ प्रतिशत बढेको छ । लगानीकर्ताहरू तुलनात्मक रूपमा सस्तो रहेका बैंक तथा वित्तीय संस्थाका सेयर खरिद गर्न झुम्मिएको देखिन्छ ।
घट्ने समूहमा सबैभन्दा धेरै व्यापार समूह ५ दशमलव ६९ प्रतिशतले घटेको छ । यस्तै होटेल समूह ३ दशमलव ९९ प्रतिशत, निर्जीवन बिमा समूह २ दशमलव ५३ प्रतिशत, जीवन बिमा समूह २ दशमलव ५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २ दशमलव ३३ प्रतिशत, म्युचुअल फन्ड समूह २ दशमलव २८ प्रतिशतले घटेको छ ।
आइतबार सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बिमा कम्पनीको ५७ करोड ९१ लख १९ हजार रुपैयाँको भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको २९ करोड ५६ लाख रुपैयाँ र नेपाल टेलिकमको २७ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसबाहेक २० कराेड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुने कम्पनीहरूमा हिमालयन डिस्टिलरी, नेपाल बैंक, प्रभु बैंक, नबिल बैंक, नेको इन्स्योरेन्स, शिवम् सिमेन्ट रहेका छन् । सिटिजन्स म्युचुअल फन्ड दोस्रोका इकाइधनीहरूले १० प्रतिशतले कमाएका छन् ।
यस्तै जानकी फाइनान्सका सेयरधनीले ९ दशमलव २१ प्रतिशतले कमाएका छन् । बजारमा लगानीकर्ताको आकर्षण उत्साहजनक देखिए पनि माउन्टेन हाइड्रो नेपालका सेयरधनीले भने ८ दशमलव ९३ प्रतिशतले गुमाएका छन् ।