थाहै नपाई साइबर अपराध, पछिल्ला घटनामा १८ वर्षमुनिका किशोर–किशोरी बढी संलग्न

बिहिबार, ४ मंसिर, २०७७
डिजिटल संस्करण

घटना–१
टिकटकमा चर्चित रहेकी भक्तपुरकी निकिशा श्रेष्ठ बाटोमा हिँडिरहेकी थिइन् । केही युवकले उनलाई दुव्र्यवहार गर्दै भिडियो खिचे र सामाजिक सञ्जालमा सार्वजनिक गरे । सामाजिक सञ्जालमार्फत प्रहरीले उजुरी लिएर अनुसन्धान गरी गत बिहीबार तीन किशोरलाई पक्राउ ग¥यो । पक्राउ परेकामध्ये दुईजना १७ र एक १८ वर्षका किशोर रहेको भक्तपुरकी एसपी तारादेवी थापाले बताइन् ।

घटना–२
फेसबुकमा बलात्कारी संगठन नामक ‘गु्रप’ बनाएर केही युवाले बलात्कारलाई प्रोत्साहन गर्ने पोस्टहरू गरे । प्रहरीले त्यसमा संलग्न दुई किशोरलाई पक्राउ ग¥यो । अनुसन्धानका क्रममा उनीहरू १७÷१८ वर्षका किशोर रहेको खुलेको छ । रमाइलोका लागि भन्दै फेसबुकमा त्यस्तो समूह बनाएका उनीहरू पक्राउ मात्र परेनन्, अदालतले थुनामा राख्ने आदेशसमेत दिएको छ ।

घटना–३
पब्जी खेल्दै इ–सेवामार्फत ठगी गर्ने पाँच किशोरलाई तीन साताअघि प्रहरीले पक्राउ ग¥यो । पब्जी खेलमा ‘क्वाइन’ मिलाइदिने भन्दै उनीहरूले कसैसँग एक सय र कसैसँग दुई सय रुपैयाँ ठग्ने गरेको प्रहरीले जनाएको छ ।

घटना–४
इन्स्टाग्राममा सन्ध्या क्विन नामक एक अकाउन्टमा अश्लील भिडियो पोस्ट हुने गरेको प्रहरीले पत्ता लगायो । अनुसन्धान गर्दै जाँदा एक किशोरीले आफ्नै ‘पोर्न भिडियो’ पोर्नहबमा अपलोड गरेर पैसा कमाउने धन्दा चलाइरहेको खुल्यो । पोर्नहबमा १६ लाखजनाले हेरेको सो भिडियो र इन्स्टाग्राम अकान्उट प्रहरीले बन्द गराएको छ ।

एक महिनायता नेपाल प्रहरीले गरेको साइबर अपराधसम्बन्धी अनुसन्धान हुन् यी । चारै घटना फरक प्रकृतिका छन्, यिनमा समानता भने सबैमा १८ वर्ष वा त्यसभन्दा कम उमेरका किशोर÷किशोरी संलग्न छन् । नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकालाई नाबालक मानेको छ । साइबर अपराधमा भने नाबालकहरूको संलग्नता डरलाग्दो देखिएको प्रहरीले जनाएको छ । कतिपय अज्ञानताका कारण, कतिपय रमाइलो र कोही लोभमा परेर कलिलै उमेरमा साइबर अपराधको जन्जालमा परेको पाइन्छ ।

साइबर अपराधमा १८ वर्षभन्दा कम उमेरका किशोर÷किशोरीको संलग्नता बढेको नेपाल प्रहरीको साइबर ब्युरोका एसपी पशुपति राय बताउँछन् । सन्तानमाथि अभिभावकको निगरानी नहुनु नै साइबर अपराधमा संलग्नताको प्रमुख कारण भएको उनको भनाइ छ । सामाजिक सञ्जालमा प्रतिशोध लिनेदेखि ठगीसम्मका घटनामा उनीहरू संलग्न देखिन्छन् । कतिपय भने अश्लील सामग्री पोस्ट गर्ने गतिविधिमा पनि देखिएका छन् ।

भक्तपुरकी निकिशा श्रेष्ठलाई दुव्र्यहार गर्ने १८ वर्षका सफिल भनिने रोहित खत्री तथा १७ वर्षका विशेष श्रेष्ठ र रितेश लाखे हुन् । रमाइलोका लागि आफूहरूले त्यस्तो गरेको उनीहरूले प्रहरीलाई बयान दिएका छन् । यस्तो गर्नु अपराध हो भन्ने जानकारी नभएको उनीहरूले बताएका छन् ।

बलात्कारी समूह चलाउने चारमध्ये तीनजना १८ वर्षभन्दा कम उमेरका छन् । उनीहरूमध्ये दुई पक्राउ परे पनि दुईजना फरार छन् । कलेज पढ्दै गरेका उनीहरूले रमाइलोका लागि यस्तो समूह बनाएको र यो गम्भीर अपराध हो भन्ने थाहा नभएको बताएका छन् । इन्टरनेटमार्फत चिनजान गरी विभिन्न बहानामा पैसा मागेर ठगी गर्ने गतिविधि पनि बढेको प्रहरीले जनाएको छ ।

पोर्नहबमा नेपाली किशोरी 
विश्वमै धेरै हेरिने पोर्न साइट पोर्नहबमा नेपाली युवतीहरूले भिडियो राख्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पैसा कमाउनकै लागि कतिपय यस्तो गतिविधिमा देखिएका छन् ।

उनीहरूले इन्स्टाग्राममार्फत प्रचारसमेत गर्दै आएका थिए । सन्धा क्विन नामक यस्तै इन्स्टाग्राम अकाउन्ट बन्द गरेर प्रहरीले पोर्नहबबाट भिडियोसमेत डिलिट गराएको छ । तर, उनीहरूले नयाँ अकाउन्टबाट यस्ता गतिविधि जारी राखेको प्रहरीको भनाइ छ ।

नेपाली युवालाई लक्षित गरी यस्ता भिडियोहरू राखिएको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकृत बताउँछन् । ‘कतिसम्म भने पछि न्युड च्याट गर्न इ–सेवामा पैसा हाल्न लगाउने गतिविधि पनि देखियो,’ ती प्रहरी अधिकृतले भने । यसमा धेरैजसो १७÷१८ वर्ष उमेरका किशोरी संलग्न देखिएका छन् ।

सामाजिक सञ्जालमा रिभेन्ज पोर्न
नेपालमा रिभेन्ज पोर्न अर्थात् नग्न भिडियो र तस्बिर सार्वजनिक गरेर बदला लिने अपराध पनि देखिन थालेको छ । यसमा पनि किशोर–किशोरी नै बढी देखिएका छन् ।

नक्कली फेसबुक अकाउन्ट बनाएर गोप्य तस्बिर सार्वजनिक गर्ने तथा अश्लील साइटहरूमा हाल्नेसमेतका गतिविधि देखिएका छन् । गत २८ असारमा गोंगबुका सुजन श्रेष्ठलाई साइबर ब्युरोले पक्राउ गरेको थियो । उनले १७ वर्षीया एक किशोरीको गोप्य भिडियो ब्लुसंसार नामक वेबसाइड बनाई अपलोड गरेको खुलेको थियो । सामाजिक सञ्जालका विभिन्न समूह बनाएर रिभेन्ज पोर्नका गतिविधि देखिएपछि प्रहरीले निगरानी गरी त्यस्ता समूह बन्द गराउँदै आएको छ ।

यस्तै, उच्च पदस्थ व्यक्तिहरूको तस्बिर बिगारेर सामाजिक सञ्जालमा हाल्ने, फेसबुक अकाउन्ट ह्याक गर्नेजस्ता घटनामा पनि किशोर–किशोरीकै संलग्नता देखिएको छ ।

कसैसँग रिस उठेमा नक्कली फेसबुक अकाउन्ट बनाउने र नांगो तस्बिरमा अन्य व्यक्तिको टाउको जोडेर सामाजिक सञ्जालमा राख्नेहरू पनि बारम्बार पक्राउ पर्दै आएका छन् । नेपाली कलाकारलाई सताउँदै आएका अछामका किरण बुढालाई प्रहरीले २९ असोजमा पक्राउ गरेको थियो ।

सामाजिक सञ्जालसम्बन्धी प्रस्ट कानुन अभाव र नयाँ पुस्तामा यसको प्रयोगबारे शिक्षाको अभावले उनीहरू यस्ता अपराधतर्फ लागेको प्रहरीको निष्कर्ष छ । अबका दिनमा यस्ता अपराध अझै बढ्न सक्ने भएकाले नेपालमा प्रयोग हुने सामाजिक सञ्जालसम्बन्धी साइट र एपहरूलाई नेपाल सरकारले अनुमति दिनुपर्ने व्यवस्था जरुरी भएको प्रहरी अधिकारीहरूको भनाइ छ ।

अधिवक्ता बाबुराम अर्याल बालबालिकाले विवेक प्रयोग गर्न नसक्ने, धेरै जिज्ञासु हुने भएकाले जिस्किने क्रममा पनि कतिपय अपराधमा जोडिन सक्ने बताउँछन् । यसका लागि नियन्त्रित इन्टरनेटको प्रयोग तथा स्कुल तहमै यसबारे शिक्षा दिनुपर्ने आवश्यकता उनी औल्याउँछन् ।

साइबर ब्युरोका एसपी पशुपति राय भन्छन्– यसमा अभिभावक दोषी हुन्

एसपी पशुपति राय

अहिले इन्टरनेट र स्मार्ट फोनको पहुँच ह्वात्तै बढेको छ । नयाँ पुस्ता यसमा अभ्यस्त छ । जसकारण कलिलो उमेरमै कतिपय साइबर अपराधको बाटोमा समेत लागेका छन् ।

यसमा किशोर–किशोरीभन्दा अभिभावक बढी जिम्मेवार छन् । इन्टरनेटमा छोराछोरी के हेरिरहेका छन्, के गरिरहेका छन् भन्ने अभिभावकलाई थाहै हुँदैन । सेफ इन्टरनेट तथा चाइल्ट इन्टरनेट मात्र बालबालिकालाई प्रयोग गर्न दिनुपर्छ । धेरै अभिभावकलाई यसबारे जानकारी नभएको पनि हुन सक्छ ।

इन्टरनेटमा के गर्नु अपराध हो भन्ने जानकारी छैन । रमाइलोका लागि भन्दै कलिला किशोर–किशोरी अपराध गरिरहेका छन् ।

बाल मनोचिकित्सक डा. गुञ्जन धोजु भन्छन्– नियमन गरेर मात्र बालबालिकालाई इन्टरनेट प्रयोग गर्न दिनुपर्छ

डा. गुञ्जन धोजु

इन्टरनेट प्रयोगसम्बन्धी नीति नै बलियो बनाउनुपर्छ । इन्टरनेट कसरी सुरक्षित रूपमा प्रयोग गर्ने भनेर अभिभावक र स्कुलले सिकाउनु जरुरी छ । यसको दुरुपयोग गर्दा के हुनसक्छ भन्ने पहिले नै जानकारी भएमा यस्ता गतिविधिबाट टाढा राख्न सकिन्छ ।

यसमा अभिभावकको ‘सुपरभिजन’ महत्वपूर्ण हुन्छ । दिनमा दुई घन्टाभन्दा धेरै इन्टरनेट प्रयोग गर्न दिनु हुँदैन । र, उनीहरूले के के प्रयोग गरिरहेका छन् भन्ने निगरानी गर्नुपर्छ । स्कुल जाने उमेरभन्दा अघि नै ग्याजेट प्रयोग गर्न दियो भने त वृत्ति विकासमै असर पर्छ । कलिलो उमेरमा साइबर अपराधमा लाग्ने तथा साइबर अपराधबाट पीडित हुने दुवै जोखिम हुन्छ । यसले उनीहरूको मानसिक स्वास्थ्य र सामाजिक जीवन दुवैमा असर पर्छ ।

सुझावित समाचार