यात्रु नपाएपछि वाइडबडी जहाज थन्क्याएर न्यारोबडीमार्फत उडान

शुक्रबार, २८ कार्तिक, २०७७
डिजिटल संस्करण

नेपाल वायुसेवा निगमले यात्रु पाउन छाडेको छ, पछिल्लो दुई सातामा एक दिन मात्रै चारवटा जहाज उड्न पाएका छन् । बाँकी केही दिन एउटा वाइडबडीले उडान गरे पनि अन्य सबै उडानहरू न्यारोबडीमार्फत ।

यात्रु घट्न थालेपछि निगमले वाइडबडी जहाज थन्क्याएर न्यारोेबडीमार्फत मात्रै उडान गर्न थालेको छ । वाइडबडीलाई चाहिने पर्याप्त यात्रु पाउन मुस्किन परेपछि सबैजसो उडानमा निगमले न्यारोबडी प्रयोग गर्न थालेको हो । पछिल्लो समय जापानको नारिता र दुबईबाहेकका गन्तव्यमा निगमले न्यारोबडी प्रयोग गर्न थालेको छ । जसका कारण एक थान वाइडबडी जहाजले काम पाउन छाडेको हो ।

असोजमा १८ हजार ९ सय ६९ यात्रु बोकेको निगमले कात्तिकमा बुधबारसम्म १० हजार ८ सय १६ यात्रुलाई मात्रै सेवा दिएको छ । यो असोजको तुलनामा ८ हजार यात्रु कम हो । ‘अहिलेको यात्रुलाई न्यारोबडी नै पर्याप्त रहेकाले अहिले आवश्यक परेकाबाहेकको समयमा वाइडबडी जहाज उडान रोकेका छाैँ,’ निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले भने ।

दसैँअगाडिसम्म नेपाली श्रमिकहरू विदेशबाट आउने–जाने क्रम बढ्दो थियो । तर, दसैँपछि आउने र जाने नै कम भएपछि निगमका जहाजले यात्रु नै पाउन छाडेका छन् । पर्यटक नआउने भएकाले अहिलेको भर नेपाली यात्रु मात्रै रहेको पौडेलले बताए । त्यसैले खर्च कटौती गर्न वाइडबडी जहाजलाई ग्राउन्डेड गरेर न्यारोबडीमार्फत उडान गरिरहेको उनको भनाइ छ ।  

साढे तीन वर्षअगाडि खरिद गरिएका दई थान वाइडबडी जहाजले भर्खरै मात्रै विभिन्न गन्तव्यमा ९० प्रतिशतसम्म अकुपेन्सी पाउन थालेको थियो । तर, कोभिडका कारण निगमको बिजनेसमा गम्भीर धक्का लागेको छ । हालसम्म निगमले ७ अर्बभन्दा बढी आम्दानी गुमाएको अनुमान गरिएको छ । निगमसँग अहिले पनि ४५ अर्बभन्दा बढी ऋणको भार छ । मासिक करोडाैं ब्याजले थिचिएको निगमलाई कोरोनाले गम्भीर धक्का दिएको छ । 

निगमसँग १ सय ५८ सिट क्षमताका दुई थान एयरबस ३२० सिरिजका न्यारोबडी जहाज छन् । २ सय ७४ सिट क्षमताका एयरबस ३३० सिरिजका दुई थान वाइडबडी जहाज छन् । निगमले हङकङ, बैंकक, मलेसिया, दुबई, साउदी, दोहा र नारिता उडान गरिरहेको छ । यता भारतका तीन गन्तव्यमा भने ११ चैतयता उडान हुन सकेको छैन । 

 काठमाडौं–दिल्ली उडान नखुल्दा निगमको आम्दानीमै असर
लामो समयदेखि नेपाल–भारत उडान हुन नसक्दा नेपाल वायुसेवा निगमले ठूलो आम्दानी गुमाउनुपरेको छ । निगमको सबैभन्दा बढी नाफा आर्जन गर्ने गन्तव्य गत ११ चैतदेखि बन्द छ । निगमले लकडाउनभन्दा अगाडि दैनिक २ उडान दिल्लीमा मात्रै गर्दै आएको थियो । त्यस्तै, मुम्बई र बैंग्लोर सातामा तीन उडान गर्दै आएको थियो । ‘अहिले पनि दिल्ली उडान खुलेमा दैनिक दुई उडान गर्न सकिन्छ भन्ने छ,’ पौडेलले भने । दिल्ली सेक्टर निगमका लागि सबैभन्दा बढी आम्दानी हुने गन्तव्यमा पर्छ ।

करिब १ घन्टाको उडान हुने दिल्लीमा नेपाली र भारतीय यात्रुकै चाप हुने गर्छ । खासगरी नेपालबाट शिक्षा, स्वास्थ्यलगायत व्यापारिक उद्देश्यले जाने–आउने यात्रु बढी हुने भएकाले पनि निगमको दिल्ली उडानमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी हुने गरेको छ । यता भाडाको हिसाबले पनि नाफा आर्जन हुने गन्तव्यमा रहेको छ । निगमको अहिलेको उडानले खर्च पनि धान्न नसक्ने अवस्था रहेकाले दिल्ली उडान गर्न सकेमा धेरै हदसम्म सहज हुने अनुमान निगमको छ ।

दुई महिनाअघि भारतले नेपाल उडानका लागि एयर बबल एग्रिमेन्टमार्फत प्रस्ताव पठाए पनि हालसम्म नेपालले स्वीकार गरेको छैन । भारतीय नागरिकको उद्धारलगायतका प्रक्रिया थाल्न एयर बबल एग्रिमेन्ट गरेर उडान गर्ने तयारी भारतको छ । गत ७ भदौमा नेपाली दूतावासमार्फत यस्तो प्रस्ताव आएको थियो । सिसिएमसीमा डेढ महिनाअगाडि नै प्रस्ताव पेस गरेको भए पनि अहिलेसम्म स्वीकृत भएको छैन । भारतले हाल २१ देशसँग एयर ट्राभल बबलअन्तर्गत उडान खुलाएको छ । 

 नक्कली पिसिआर रिपोर्ट भन्दै हङकङले लगायो तेस्रोपटक प्रतिबन्ध
कोरोना परीक्षणमा निजी ल्याबहरूको लापरबाहीका कारण नेपाल वायुसेवा निगमलाई तेस्रोपटक हङकङले उडानमा प्रतिबन्ध लगाएको छ । निगमको वाइडबडी जहाजमार्फत बुधबार हङकङ पुगेका १४ यात्रुमा कोरोना पोजेटिभ देखिएपछि पुनः प्रतिबन्ध लागेको हो । निगमलाई दुबई र नारिता विमानस्थलले समेत प्रतिबन्ध लगाउने चेतावनी पत्र पठाइसकेको छ । निगमले पर्यटन मन्त्रालयलाई पत्र लेख्दै समस्या समाधान गरिदिन आग्रहसमेत गरिसकेको छ ।

हङकङले निगमलाई १२ नोभेम्बरदेखि २५ नोभेम्बरसम्म प्रतिबन्ध लगाएको हो । ‘हङकङले पाँचजनासम्मको पोजेटिभलाई मान्यता दिए पनि बुधबार १४ जनामा देखिएपछि पुनः बन्द गरिदिएको छ,’ निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले भने । १ सय ७९ यात्रु लिएर बुधबार जहाज हङकङ उडेको थियो । निगमलाई यसअघि हङकङले अक्टोबर ४ देखि १७ सम्म पहिलो र अक्टोबर २० देखि नोभेम्बर २० सम्म दोस्रो प्रतिबन्ध लगाएको थियो । निगमले दुई प्रतिबन्धमा १० करोडभन्दा बढी आम्दानी गुमाएको थियो । 

सुझावित समाचार