ललितपुर महानगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रत्येक वडामा कोभिड सहजीकरण समूह गठन गर्ने भएको छ । महानगरमा २९ वटा वडा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको बैठकपछि महानगरले सबै वडामा छुट्टा–छुट्टै समूह निर्माण गरी कोभिड नियन्त्रण र अनुगमन अभियान सञ्चालन गर्न लागेको हो ।
समूहले वडाको टोल–टोलमा पुगेर घरैपिच्छे कोरोना संक्रमित भए–नभएको अनुगमन गर्नेछ । मेयर चिरिबाबु महर्जनले समूहको गठन राम्रो अवधारणा भएको बताउँदै सहजीकरण समूह गठन गर्न पत्राचार गर्ने बताए । कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएका र नदेखिएकाहरू स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाई घरमै बसिरहेका छन् । जसले गर्दा कोरोना संक्रमणको फैलावट व्यापक भएको विज्ञहरूले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले कोरोना नियन्त्रणका लागि समूह गठन प्रभावकारी हुने बताए । समूहले टोल–टोलमा पुगेर घरैपिच्छे बिरामी भए–नभएको, कस्तो खालका बिरामी भएको यकिन गर्ने बताए । यो समूहले संक्रमण दर घटाउन सहयोग गर्ने उनले स्पष्ट पारे । कोरोना नियन्त्रणका लागि सरकारले सञ्चालन गरेका गतिविधि र नियम मात्रै पर्याप्त नहुने बताउँदै उनले भने, ‘यो भाइरस संक्रमण नियन्त्रणका लागि व्यक्ति–व्यक्तिको सतर्कता आवश्यक छ, त्यसो भए संक्रमण नियन्त्रण गर्न सकिन्छ ।’ टोलका मान्छे जाग्नुपर्ने धारणा उनले राखे । कोरोना संक्रमितको संख्या बढे पनि मृत्युदर कम भएको उल्लेख गर्दै उनले यो समूह प्रभावकारी हुने स्पष्ट पारे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. अमृत पोखरेलले कोभिड सहजीकरण समूहको अवधारणाबारे बताउँदै एक समूहले धेरैमा ५० घरको निगरानी गर्नुपर्ने बताए । समूहमा महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक परिचालक, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय क्लब, आमा समूह तथा गुठीका सदस्यहरू प्राथमिकताका साथ समावेश गर्नुपर्नेछ । डा. पोखरेलका अनुसार समूहले होम आइसोलेसनमा बसे–नबसेको अनुगमन गर्ने, उनीहरूको पहिचान गरी नगरपालिकासँग समन्वय गर्नेलगायतका विषयमा काम गर्नुपर्नेछ ।
कार्यक्रममा महानगरपालिकाका कोभिड फोकल पर्सन देवी थापा गुरुङले कोरोना संक्रमण नियन्त्रणका लागि ललितपुर महानगरपालिकाले गरेको गतिविधिबारे जानकारी गराएकी थिइन् ।