खोपको खबरमाझ संयमता

बुधबार, २६ कार्तिक, २०७७
डिजिटल संस्करण

फाइजरले विकास गरिरहेको कोरोना भाइरस खोपले परीक्षणका क्रममा कोभिड–१९ विरुद्ध ९० प्रतिशतभन्दा बढी प्रभावकारिता देखाएको घोषणाले उत्साह जगाएको छ । खोपको ९० प्रतिशत प्रभावकारिता पहिले सोचिएभन्दा धेरै हो । यति प्रभावकारी खोपले रोगलाई निर्मूल पार्ने सामथ्र्य राख्छ । दुर्भाग्यवश खोप अहिले परीक्षणको चरणमा नै छ र अझै केही महिना हामी सामान्य जीवनमा फर्किन सक्दैनौँ । अब खोप आममानिसको पहुँचमा नआउन्जेल थप कडाइको आवश्यकता हुन्छ ।

अब पहिले सोचिएजस्तो भाइरसबीच कसरी जीवन बिताउने भन्नेमा बढी दिमाग लगाउन जरुरी छैन । मुख्य ध्यान नजिकिँदै गरेको जाडो महिनामा धेरैभन्दा धेरैलाई बिरामी हुन नदिनेमा हुनुपर्छ । यसका लागि संक्रमण दर न्यून राख्नुपर्छ । न्यून संक्रमित रहेमा मात्र खोप आएपछि भाइरसलाई नष्ट गर्न सकिन्छ । अर्थात्, यो जाडोमा मानिसलाई जोगाउन सकियो भने मात्र धेरैको ज्यान बचाउन सकिन्छ । 

खोपको सम्भावना बलियो देखिए पनि यो सबैको पहुँचमा कहिलेसम्म आइपुग्छ भन्ने अझै स्पष्ट भएको छैन । अनिश्चितकालसम्म मानिसबीच अन्तर्क्रिया अवरुद्ध गर्न कठिन भइरहेको थियो । तर, अब चाँडै खोप आउँदै छ भन्ने भएपछि मानिसहरू सामाजिक भेटघाटका लागि हतारिन सक्छन् । विशेषतः चाडहरू नजिक आइरहेका छन् । चाडबाडमा मानिसहरू भेला भएर घरभित्र बस्छन् । खुला स्थानमा भन्दा घरभित्रको वातावरणमा भाइरस फैलिने सम्भावना बढी हुन्छ । यसैले चाडबाडमा मानिसहरू भेला भएर सँगै खानपिन गर्दा संक्रमण दर बढ्नेछ । अझ महत्वपूर्ण चाडमा मानिस झन्डै एक हप्तासम्म घरभित्रै बस्ने गर्छन् । 

कोरोनाको कडाइका कारण मानिसहरूले लामो समय आफन्तलाई खुलेर भेट्न पाइरहेका छैनन् । यस्तोमा चाडको अवसर पारेर आफन्तलाई भेट्ने चाहना तीव्र हुनु स्वाभाविक हो । खोपको प्रभावकारिताको खबरमाझ यो चाहना थप बढ्नेछ । तर, अहिले खोपको अध्ययनको निष्कर्ष मात्र सार्वजनिक भएको हो । खोपको अध्ययन पूरा भएपछि सम्बन्धित नियामक निकायले स्वीकृति दिन्छन् ।

फाइजरको खोपसम्बन्धी घोषणा निकै सुखद समाचार हो, तर यसबाट हौसिएर अहिले नै सतर्कतामा लापरबाही गरियो भने त्यसले गम्भीर परिणति निम्त्याउनेछ । 

निर्माण तथा वितरणका लागि थप समय लाग्छ । फाइजरले यो वर्षको अन्त्यसम्म आफूले पाँच करोड डोज खोप वितरण गर्न सक्ने बताएको छ । सन् २०२१ सम्म अर्को १.३ अर्ब डोज निर्माण हुने कम्पनीले बताएको छ । अरू कम्पनीले पनि खोपमा अध्ययन गरिरहेका छन् । यदि ती पनि सफल भए भने चाँडोमा अर्को वसन्तसम्म केही राहत हुनेछ । यो तथ्यलाई ख्याल गर्दा हामीले अबका केही चाडबाडलाई कम रौनकका साथ मनाउनु उचित हुन्छ । मानिसहरूले यो शिशिरसम्म मात्रै आफू आफन्तजनकहाँ जानबाट रोक्न सके भने बाँकी समय तिनले सुरक्षित वातावरणमा परिवारसँग भेटघाट गर्न सक्नेछन् । यस्तो अवस्थामा आफूलाई रोक्नु नै श्रेयष्कर हुनेछ । 

कोभिड–१९ बाट बच्न अवलम्बन गरिएको मार्ग निकै महँगो साबित भएको छ । हामीले वित्तीय रूपमा मात्र होइन, शारीरिक स्वास्थ्यका अतिरिक्त मानसिक स्वास्थ्यको मूल्य चुकाइरहेका छौँ । छोटो समयका लागि यी मूल्य चुकाउनु सजिलो छ । जोखिमको बदलिँदो चित्रमाझ नीतिगत असर पनि हुनेछ । जस्तो– अहिले नै कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि युरोपमा पुनः लकडाउन सुरु गरिएको छ । उनीहरू पहिलेको जस्तो अत्यन्त खराब स्थिति आउन नदिन प्रयासरत छन् । जर्मनी, फ्रान्स र इंग्ल्यान्डले बार, रेस्टुरेन्ट, जिम तथा अन्य स्थान बन्द गरेका छन् ।

अमेरिकाको धेरै भागमा यी कदम उठाइएको छैन । सबैभन्दा प्रभावित राज्यले समेत ती कदम उठाउन हिच्किचाइरहेको छ । यसमा आंशिक रूपमा राजनीतिको हात देखिन्छ । अमेरिकामा कोरोना भाइरसविरुद्धको कदममा ठूलो राजनीतीकण भयो । तर, अर्को पक्ष के छ भने मानिसहरू अनिश्चित कालसम्म व्यवसाय बन्द गर्न नसकिने सोचमा पुगेका छन् । लकडाउन कडाइ गरियो भने अनगिन्ती साना व्यवसाय बन्द हुनेछन् र बेरोजगारी चुलिनेछ । धेरै मानिस रोगको जोखिम वर्षौंसम्म लम्बिने खतरा भएकाले लकडाउन लगाउन नसकिने तर्क गर्छन् । यसको सट्टामा मास्कलाई अनिवार्य गर्ने, भेलालाई रोक्ने र निश्चित क्षेत्रमा कडाइ गर्नु केही सह्य हुनेछ । 

कोरोना भाइरसविरुद्ध खोप निर्माण सम्भव भएको खबरमाझ अब संघीय सरकारले सहयोग बढाउनुपर्नेछ । कोभिड–१९ बाट केही व्यवसाय बढी प्रभावित हुनेछन् । बढी मानिस भेला हुने त्यस्ता व्यवसाय बन्द गर्नुपर्ने बाध्यता हुन्छ । यसले ती व्यवसायसँग जोडिएका मानिसलाई निकै कठिनाइ उत्पन्न गराउनेछ । त्यसैले सरकारले तिनको सहयोगका लागि आर्थिक राहतको प्याकेज ल्याउनुपर्नेछ । नजिकिँदै गरेको जाडो महिनामा रेस्टुरेन्ट तथा बारले सेवा दिनु खतरनाक हुनेछ ।

यिनलाई अल्पकालीन समय बन्द गराएर अर्को वर्ष अनुदान दिई खोलाउनु यथार्थपरक हुनेछ । यस्तै सहयोग भाइरसको संकट गहिरिएपछि अर्थतन्त्रमा आएको समस्याले बेरोजगार भएकाहरूलार्ई पनि प्रदान गर्नुपर्नेछ । फाइजरको घोषणा निकै सुखद समाचार हो । तर, संयमता र होसियारीमा ध्यान दिइएन भने त्यो ठूलो गल्ती हुनेछ । त्यसको सट्टामा आगामी केही समय हामीले घरभित्र बस्ने, बाहिर निस्किँदा अनिवार्य मास्क लगाउने र मानिसहरूको अन्तत्र्रिmय कम गर्नुपर्छ । अझै पनि यात्रा लामो छ, तर अहिलेका लागि अन्तिम बिन्दु नजिकिँदै गएको देखिएको छ ।

क्यारोल इन्डियाना विश्वविद्यालयका बालरोगका प्राध्यापक हुन् भने ब्याग्ले मिचिगन विश्वविद्यालयका प्राध्यापक हुन् । 

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य
"via The New York Times"

 

See More On

सुझावित समाचार