अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन् । ट्रम्पले कार्यकाल सकिनै लागेका समय रक्षामन्त्रीको बर्खास्त गरेका हुन् ।
रक्षामन्त्री इस्पेरको बर्खास्तीलाई अप्रत्याशित र अस्वाभाविक मानिएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमार्फत इस्पेरलाई हटाइएको जानकारी दिएका हुन् । तर, उनलाई हटाउनुको कारण भने स्पष्ट पारेका छैनन् ।
ट्रम्प र इस्पेरका बीचमा पछिल्लो केही समयदेखि मतभेद रहेको थियो । गत जुनमा एकजना अश्वेत अमेरिकीको हत्या भएपछि चर्किएको आन्दोलनका क्रममा सेना परिचालन गर्ने कि नगर्नेबारेमा उनहरूबीच मतभेद भएको हो ।
त्यतिवेला ट्रम्पले आन्दोलन दबाउन सेना परिचालन गर्न खोजे पनि रक्षामन्त्री इस्पेरले भने अस्वीकार गरेका थियो । त्यति वेला नै उनलाई ट्रम्पले बर्खास्त गर्ने धेरैले अनुमान गरेका थिए । राष्ट्रपति ट्रम्पले इस्पेरलाई हटाएर खाली भएको रक्षामन्त्रीको पदमा नेस्नल काउन्टर टेरोरिजम सेन्टरका निर्देशक क्रिस्टोफर मिलरलाई जिम्मेवारी दिएका छन् । नवनियुक्त रक्षामन्त्री मिलरले राम्रो काम गर्ने विश्वास व्यक्त गर्दै ट्रम्पले बर्खास्त रक्षामन्त्री इस्पेयरलाई विगतको सेवाका लागि धन्यवाद दिएका छन् ।
इस्पेरले पनि राष्ट्रपति ट्रम्पप्रति धन्यवाद ज्ञापन गर्दै जिम्मेवारीमा रहँदा संविधान र सैनिक तथा सुरक्षाको मर्मअनुसार काम गर्ने प्रयत्न गरेको उल्लेख गरेका छन् ।