यो घटना त्यति वेलाको हो, जब एउटा युद्धमा विजय प्राप्त गरेर अलेक्जेन्डर महान् र उनका गुरु अरिस्टोटल सँगै आफ्नो राज्यतर्फ फर्किरहेका थिए । युद्ध लड्दालड्दै निकै टाढा पुगेका उनीहरू फर्किने बाटो भने सहज थिएन । ठुल्ठूला पहाड र घना जंगल छिचोल्दै अघि बढ्ने क्रममा उनीहरूले एउटा गहिरो निलो खोला तर्नुपर्ने भयो ।
सैनिक बेडाको अघिल्तिर हिँडिरहेका अरिस्टोटल र अलेक्जेन्डर महान् दुवै खोलाको अघिल्तिर रोकिए । त्यसपछि गुरु अरिस्टोटलले अलेक्जेन्डरलाई भने– यो खोला तरेर पहिले म पारि पुग्नेछु, त्यसपछि तिमीले तर्नू । झुकेर गुरुलाई विनम्रतापूर्वक उनले सहमति जनाए । तर, गुरुले खोला तर्ने तयारी गर्दै गर्दा अलेक्जेन्डर महान्ले खोला तरिसकेका थिए ।
अलेक्जेन्डरको त्यस्तो व्यवहारबाट अरिस्टोटल क्रोधित भएर भने– आजसम्म तिमीले मेरो आदेशको अटेर गरेका थिएनौँ, तर आज भने तिमीले मेरो कुरा अटेर ग¥यौँ । यसको केही ठोस कारण छ भने भन नभए सजायका लागि तयार होऊ ।
अलेक्जेन्डरले बडो नम्रतापूर्वक टाउको झुकाएर भने– खोला तर्दै गर्दा यदि तपाईंलाई केही भएको भए मैले तपाईं जस्तो अर्को गुरु पाउने थिइनँ, तर म डुबेको भए तपाईंले आफ्नो ज्ञानले मजस्ता कैयौँ अलेक्जेन्डर निर्माण गर्न सक्नुहुन्थ्यो । शिष्यको कुरा सुनेर अरिस्टोटलले भने– यो तिम्रो अन्तिम परीक्षा थियो, तिमी त्यसमा पनि पास भयौ । अब तिमीलाई संसार विजय गर्नबाट कसैले रोक्न सक्दैन ।