ऊर्जामन्त्री वर्षमान पुनले सोमबारदेखि लागू हुने गरी हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको नयाँ निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका छन् । मन्त्रालयले मौजुदा निमित्त कार्यकारी निर्देशकलाई हटाएर पुनः निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो । नवनियुक्त निमित्त कार्यकारी निर्देशक शाक्यले सोमबारदेखि नै कार्यभार सम्हालेका छन् ।
यसअघि नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला थिए । कार्यकारी निर्देशक कुलमान घिसिङले ४ वर्षे कार्यकाल पूरा गरी २९ भदौमा बिदाइ भएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो ।
कोइराला प्राधिकरणको वरिष्ठताका आधारमा दोस्रो वरीयतामा थिए । वरिष्ठताका आधारमा पहिलो स्थानमा उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य थिए । उनी प्राधिकरणकै इन्जिनियरिङ कम्पनीमा रहेकाले उनलाई ल्याउनुभन्दा यसअघि केन्द्रीय कार्यालयमै रहेकामध्ये वरिष्ठ कोइरालालाई नियुक्त गरिएको थियो । अहिले शाक्य इन्जिनियरिङ कम्पनीबाट फर्किएपछि उनलाई नै वरिष्ठताका आधारमा जिम्मेवारी दिइएको ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले जानकारी दिए ।