अन्ततः हामीले पटकाको उत्पादनमै पूर्ण रूपले बन्देज लगाउनुपर्ने हुन्छ र यो काम टुक्रा–टुक्रामा हुन सक्दैन
अन्य केही राज्यका साथै दिल्लीले पनि एकचोटी फेरि तिहारभन्दा पहिले नै पटकामाथि रोक लगाइदिएको छ । त्यसो त कुनै न कुनै रूपमा प्रत्येक वर्ष यस्तो रोक लगाउने गरिएकै छ । प्रत्येकपटक तिहारमा दिल्लीको आकाश अनेकौँ पटकाको बारुदी धुवाँसँगै गुञ्ज्यायमान हुन्छ र प्रशासनले लगाएको रोक त्यसै फुस्स हुन्छ । तिहारकै दिन मात्र कहाँ हो र, यस्ता धमाका कैयौँ पहिलेदेखि सुरु हुन्छन् र छठको धेरैपछि मात्र लुप्त हुन्छन् । ४ नोभेम्बरमा जति वेला देशको राजधानीमा प्रदूषणको स्तर खतरनाक स्तरमा पुगिसकेको थियो, त्यति वेला पनि सबैतिरबाट पटकाको आवाज आइरहेको थियो । त्यो दिन महिलाले चन्द्रमा हेरेर पूजाआजा गर्ने करवाचौध थियो । तर, चन्द्रमा धुवाँमा कतै जेलिएको थियो । त्यति वेला कतिले एकअर्कालाई सोधिरहेका थिए, करवाचौध भनेको तिहार हो र ? जो अहिल्यैदेखि पटका फुटाउनुपर्ने ?
यही प्रश्न कैयौँले तिहारका वेलामा पनि सोध्ने गर्छन् र छठका बारेमा पनि । केही मानिस अनेकौँ परम्परालाई उद्धृत गर्दै के बुझाउने प्रयास गरिरहेका हुन्छन् भने तिहारमा आतसबाजी गरिँदैन । र, आतसबाजीको तिहारसँग कुनै सरोकार नै छैन । यो कुरा सही पनि हुन सक्छ, तर साँचो के हो भने मानिसले कुनै परम्परालाई देखाएर आतसबाजी नगर्ने गर्दैन, बरु त्यसविपरीत त्यसैलाई देखाएर आतसबाजी गरिरहेको हुन्छ । विविध प्रकारका पटकाबारे हाम्रो मान्यता कस्तो छ भने यो नभई मजा आउँदैन । तिहारमा मात्र कहाँ हो र, मानिसहरूले यो काम बिहे व्रर्तबन्धमा पनि गर्न भ्याउँछन् । अनि ३१ डिसेम्बरको राति १२ बजे भएको आतसबाजीका लागि के भन्नुहुन्छ ? झनै अर्को उदाहरणका लागि तपाईं कतै टाढा जानै पर्दैन । निर्वाचनमा विजयी हुनेले पनि पटका पड्काउनका लागि समय कुरिरहका हुन्छन् ।
२१औँ शताब्दीका सरकारसँग यति अपेक्षा त गर्नैपर्ने हुन्छ कि उसले प्रदूषणलाई मात्र होइन कि ग्लोबल वार्मिङलाई रोक्नका लागि पनि पटका बन्द गरोस्
आतसबाजीमा अथवा त्यसको कागजी कारोबारमा रोक लगाउने सजिलो काम हो । तर, उत्सव मनाउन मानिसले प्रयोग गरेको यो विधिलाई नै सचेततापूर्वक फेर्ने गर्नुपर्छ, जुन कठिन काम हो । र, यसलाई रोक्ने प्रयास कसैले पनि गरिरहेका छैनन् । प्रशासनले साँच्चै यसमाथि रोक लगाउने हो भने यसमा समाजलाई प्रेरित गर्नुपर्ने हुन्छ । मध्यमवर्गको विस्तार र उसमा सम्पन्नता आएसँगै यो वर्गमा पटका मानसिकताको जबर्जस्त विकास भएको छ । राष्ट्रिय राजधानीको हकमा केही कलोनीमा त त्यति वेलासम्म तिहारलाई अपूरो मानिन्छ, जति वेलासम्म पटकाको ठूलो लडी जलाइँदैन ।
दिल्लीका स्कुलमा केही साल पहिले एउटा अभियान चलाएर बालबालिकालाई के भनिएको थियो भने पटकाको उत्पादनमा बाल श्रमिकको प्रयोग गर्ने गरिन्छ, त्यसैले बालबालिकाले पटकाको बहिष्कार गर्नुपर्छ । ती बालबालिकालाई त्यसको शपथ पनि खुवाइएको थियो । तिहारभन्दा दुई दिनअघिसम्म केटाकेटीले पटका पड्काउन इन्कार गरेको पनि देखियो । तर, पछि बारुदबाट पैदा गरिने जुन चमक छ त्यसबाट उनीहरू टाढा रहन सकेनन् । शपथ खाएर पनि यी बालबालिका पटकातिर किन लहसिए त ? यसको एउटा कारण के हो भने अतिसबाजीको आफ्नै प्रकारको एउटा सम्मोहन हुने गर्छ । तर, दोस्रो ठूलो कारण के हो भने हामीले बालबालिकालाई पटकादेखि टाढा रहनका लागि सुझाब त दिन्छौँ, तर उनीहरूलाई त्यसको विकल्पमा केही पनि दिन सक्दैनौँ ।
बहिष्कारको अपिल र पटकाको पाबन्दी दुवैका पछाडि के आग्रह हुन्छ भने सबैले आआफ्नो स्तरबाट चाडबाडलाई शालीनताका साथ मनाऊन् । तर, मानिसलाई यो कुरा त्यति ग्राह्य हुँदैन । यदि फागुपूर्णिमा र तिहार पनि शालीनताका साथ मनाउने हो भने यी पर्व किन मनाउनुपर्याे त भन्ने प्रश्न पनि छ । यही नै मूल कारण हो कि प्रत्येक वर्ष पटकामाथि पाबन्दी लगाउँदा पनि त्यो रोकिँदैन । २१औँ शताब्दीका सरकारसँग यति अपेक्षा त गर्नैपर्ने हुन्छ कि उसले प्रदूषणलाई मात्र होइन कि ग्लोबल वार्मिङलाई रोक्नका लागि पनि पहल लेओस् । त्यसका लागि जस्ता काम गरिनुपर्ने छ, त्यसमा एउटा यो तिहारको वेलामा रौक्नैपर्ने अतिसबाजी पनि पर्छ । यो काम टुक्रा–टुक्रामा हुन सक्दैन । अन्ततः हामीले पटकाको उत्पादनमै पूर्ण रूपले बन्देज लगाउनुपर्ने हुन्छ ।
(लेखक वरिष्ठ पत्रकार हुन् ।)
हिन्दुस्तान टाइम्सबाट