कोरोना संक्रमितको आइसियू खर्च नगरपालिकाले व्यहोर्ने

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर भएर आइसियूमा भर्ना भई उपचार गर्नुपरेमा उपचार खर्च सहयोग गर्ने भएको छ । महालक्ष्मी नगर कार्यपालिकाको सम्पन्न बैठकले आइसियूमा उपचार गराउनुपर्ने गम्भीर अवस्थाका संक्रमितलाई उपचार खर्चबापत प्रतिव्यक्ति २५ हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीलाई आइसियूमा राखेर उपचार गर्ने गरिन्छ । धनकुटा अस्पतालमा समेत आइसियू नहुँदा जिल्लाका बिरामीलाई धरान, विराटनगरलगायत ठूला सहरका अस्पतालमा पुर्याउनुपर्ने बाध्यता छ । 

आइसियूमा राखेर गरिने उपचार धेरै खर्चिलो हुने भएकाले नगरवासीको ज्यान बचाउन उपचारमा केही मात्रामा भए पनि सहयोग गर्न लागिएको नगर प्रमुख परशुराम नेपालले बताए । ‘कोरोना संक्रमण बढिरहेको छ । संक्रमितको स्वास्थ्य अवस्था जटिल भयो भने आइसियूमा पनि राख्नुपर्ने हुन सक्छ । त्यसकारण आइसियूको उपचार खर्च व्यहोर्ने निर्णय गरिएको हो,’ नगर प्रमुख नेपालले भने । 

कोरोना संक्रमितको उपचारमा केन्द्र सरकार पछि हटेका वेला स्थानीय सरकारहरूले आफ्ना नागरिकलाई बचाउनका लागि आफैँले अग्रसरता देखाउन थालेका छन् । यसै सन्दर्भमा महालक्ष्मी नगरपालिकाले नगरवासीलाई संकटमा साथ दिने निर्णय गरेको हो । सो नगरपालिकाले कोरोनाको लक्षणयुक्त नगरवासीको पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएमा परीक्षण शुल्कमा ५० प्रतिशत रकम सहयोग गर्ने भएको छ । लक्षण देखिएकालाई नगरका स्वास्थ्यकर्मीले स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि पठाउँछन् । 

पिसिआर परीक्षणमा पनि सहायता
संक्रमण पुष्टि भएमा पिसिआर ल्याबमा परीक्षणबापत लाग्ने शुल्कको आधा रकम नगरपालिकाले बेहोर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । अहिले सरकारले पिसिआर परीक्षणबापत दुई हजार रुपैयाँ शुल्क तोकेको छ ।

नगरले आधा रकम बेहोर्ने भएकाले संक्रमण पुष्टि हुने महालक्ष्मी नगरवासीले परीक्षणमा एक हजार मात्र खर्चिनुपर्ने भएको छ । नगरवासीको पिसिआर परीक्षणका लागि स्वाब संकलन किट (भिटिएम) को व्यवस्था पनि नगरपालिकाले नै मिलाउने भएको छ ।

धनकुटामा पिसिआर ल्याब नभएकाले तराईका जिल्लाका ल्याबमा स्वाब पु¥याउन लाग्ने ढुवानी खर्च पनि नगरले नै बेहोर्नेछ । त्यस्तै संक्रमण पूष्टि भएका संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने र संक्रमितको मृत्यु भएमा शववाहन खर्चसमेत नगरपालिकाले नै बेहोर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य सुवेदीले बताए ।

सुझावित समाचार