बढ्दै कोरोना संक्रमण, खुम्चिँदै सरोकारवालाको भूमिका

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

रोल्पाको परिवर्तन गाउँपालिका– ५, का ५५ वर्षीय एक व्यक्तिले भारतबाट फर्किने क्रममा दाङमा स्वाब परीक्षण गराएर घर फर्किए । घर पुगेलगत्तै उनको कोरोना रिपोर्ट पजिटिभ आयो ।

संक्रमण पुष्टि भएपछि उनी स्थानीय सरकार तथा स्वास्थ्यकर्मीको सल्लाहमा होम आइसाेलेसनमा बसे । क्यान्सर रोगले पीडित ती व्यक्तिको २० कात्तिकमा घरमै मृत्यु भयो । दुई छोराले गाउँमै दाहसंस्कार गरे । कोरोना सतर्कताबारे कसैले वास्तै गरेनन् ।

जिल्ला सदरमुकाम लिबाङमा बस्दै आएका ५६ वर्षीय एक व्यवसायी केही दिनअघि रोल्पा अस्पताल भर्ना भए । अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज रेफर गरियो । तर, नेपालगगन्जमा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भयो र उपचारकै क्रममा उनको पनि मृत्यु भयो । 

रोल्पा अस्पताल हुँदै नेपालगन्ज पुगका ती कोरोना संक्रमित र अरूलाई हुने संक्रमणबारे वास्ता गरिएन । अस्पतालको सेवा सञ्चालन गर्ने वा नगर्नेबारे स्वास्थ्यकर्मी नै विभाजित भए । ‘स्वास्थ्य सेवा पाउने मानव अधिकार’ भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन समितिले पनि अस्पताल बन्द नगर्न निर्देशन दियो । त्यसको केही दिनमा डाक्टरसहित सातजना स्वास्थ्यकर्मी संक्रमित भए ।

अस्पताल भर्ना भएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएलगत्तै जिल्ला कोभिड संकट व्यवस्थापन समितिले आवश्यक सतर्कता अपनाउनुपर्नेमा बेवास्ता गरिएको रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगी बताउँछन् । ‘सबैभन्दा जोखिम अस्पतालमै हुन्छ भनेर हामीले पहिल्यैदेखि आवश्यक सतर्कताका लागि आग्रह गरिरहेका थियौँ,’ डाँगीले भने, ‘भर्ना भएका बिरामीमा संक्रमण पुष्टि भएपनि चासो दिइएन, यो दुःखद कुरा हो ।’ 

सुरुमा कोरोना संक्रमण नफैलिँदै निकै तामझामसहित स्थानीय तहले समेत चासो देखाए । मोटो रकम पनि खर्चिए । तर, जब संक्रमितको संख्या बढ्दै गयो, जिल्ला कोभिड संकट व्यवस्थापन समिति, स्थानीय सरकार र अन्य सरोकारवाला निकायहरूको भूमिका खुम्चिँदै गयो । ‘सरकारको निर्देशन’ भन्दै सक्रिय संक्रमितलाई पनि घरमै राखियो, जसको कारण संक्रमण झन् बढेको धेरैको अनुमान छ ।

यता जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले भने आफूहरूले सबै कुराको मापन गरेर कार्यसम्पादन गरिरहेको बताए । ‘बढ्दो जोखिम अनुमान गरेरै रोल्पा अस्पताल बन्द गरिएको हो,’ रानाले भने, ‘आइसोलेसन अर्को ठाउँमा सोमबारबाट सुचारु हुँदै छ, कोरोनाबारे अब थप कडाइ गर्छौँ ।’ 

उनका अनुसार यसअघि जलजला क्याम्पस लिबाङमा सञ्चालन गरिएको अस्थायी आइसोलेसन सोमबारबाट गुरुङगाउँ सामुदायिक भवनमा सञ्चालन गरिनेछ । जसको सुरक्षाका लागि सदरमुकाम लिबाङमा रहेको खड्ग दल गणलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताए ।

अहिलेसम्मको तथ्यांकलाई हेर्दा जिल्लामा मृतकको संख्या तीन पुगिसकेको छ भने एक सय ७७ जना संक्रमित भएका छन् । जसमध्ये १७ जना सक्रिय संक्रमित अहिले पनि आइसोलेसनमा छन् । 

तीमध्ये धेरै होम आइसोलेसनमा छन् । सातजना स्वास्थ्यकर्मीलाई एकै कोठामा राखिएको छ । जिल्लामा जम्मा तीन हजार एक सय ९५ जनाको स्वाब परीक्षण गरिएको छ । जसमा रोल्पा अस्पताल रेउघाका सात स्वास्थ्यकर्मी र इलाका प्रहरी कार्यालयका ६ प्रहरी र एक थुनुवासहित एक सय ७७ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

रोल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

कोरोना भाइरसका कारण रोल्पा अस्पतालमा अर्को सूचना नभएसम्मका लागि आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । 

स्वास्थ्यकर्मीसमेत संक्रमित बन्न थालेपछि अस्पताल बन्द गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक तथा प्रजिअ नरेन्द्रकुमार रानाले जानकारी दिए।

अस्पतालमा कार्यरत डाक्टरसहित सातजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । अस्पतालमा भर्ना भएका बिरामीलाई रेफर गरी नेपालगन्ज पठाइएकोमा कोरोना पुष्टि भएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो ।

सुझावित समाचार