भरतपुर महानगरपालिका–२५, अमृतनगर कृषिचोकका नोबेल एग्रिकल्चर फर्मका सञ्चालक कृष्णप्रसाद न्यौपाने (४४ वर्ष) कृषि पेसाबाट यस वर्ष निरन्तर घाटामा छन् । २६ बिघा जमिनमा खेती गर्दै आएका उनले पहिलो लकडाउनमा तरकारी बिक्री नभएपछि ७० लाखभन्दा बढीको उत्पादन क्षति भयो ।
बिक्रीका लागि ठिक्क भएको करेला, घिरौँला, खुर्सानी, भेडेखुसार्नीलगायतका उत्पादनले बजार नपाएपछि केही बारीमा नै कुहिए । अर्को बाली लगाउनुपर्ने भएपछि आफैँले ट्याक्टर लगाएर तरकारी नष्ट गर्न बाध्य हुनुपर्यो । सबै उत्पादन नियमित बजारमा बिक्री गर्न सकिएमा उनले वार्षिक २ करोडभन्दा बढी आम्दानी गर्छन् । साढे २५ बिघा जमिन भाडामा लिएर खेती गरेका उनले प्रतिबिघा २० देखि ३० हजारसम्म भाडा बुझाउनुपर्छ ।

यसपटक भने १५ लाखभन्दा बढी खर्च गरेर ६ बिघामा लगाएको तरबुजा कात्तिक पहिलो हप्तासम्म बेच्नुपर्ने थियो । न्यौपानेका अनुसार एक बिघामा ३ सय टन तरबुजा उत्पादन हुन्छ । प्रतिकेजी २० रुपैयाँमा तरबुजा बिक्री भए पनि उनको बारीमा ३६ लाखको तरबुजा उत्पादन भएको छ । तर, समयमै बिक्री नहुँदा तरबुजा बारीमा नै सुक्न र कुहिन लागेको छ ।

उनले भने, ‘अब तरबुजा हटाएर नयाँ खेती गर्न ६० लाख ऋणका लागि बैंकमा कागजात हालेको छु ।’ यसपटक फर्सी र टमाटर लगाउने तयारीमा छन् । उनी भन्छन्, ‘नयाँ खेतीका लागि अब फेरि ट्याक्टर लगाएर तरबुजा नष्ट गर्नुको विकल्प छैन ।’ उनका अनुसार भारतीय व्यापारीको नेपाली बजारमा राम्रो पकड भएकाले नेपाली तरकारी सहजै बिक्री हुँदैन । उनले भने, ‘मेरो तरबुजा किन्दिनुपर्यो भनेर कोरोना जोखिम मोलेरै दुईपटक काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजार पनि पुगेँ, तर उनीहरू नेपाली उत्पादन किन्नै चाहँदैनन् ।’
न्यौपानेका अनुसार एक बिघा जमिनमा तरबुजा उत्पादन गर्न ३ लाख खर्च लाग्छ । उनले आफ्नो बारीमा पुरानो मल्चिङ प्रयोग गरेका थिए । जसले गर्दा ६ बिघामा तरबुजा लगाउँदा खर्च घटेर १५ लाख मात्र भयो । प्रतिकेजी डेढ लाख पर्ने तरबुजाको एक किलो बिउले ३ बिघा क्षेत्रफललाई पुग्छ । बिउ, मल, प्रविधिमा सरकारको सहयोग शून्यबराबर रहेको उनको गुनासो छ ।
दुई महिनामा बिक्रीयोग्य हुने एक केजी तरबुजा उत्पादन गर्न कम्तीमा २० रुपैयाँ खर्च हुने उनी बताउँछन् । तर, भारतमा नेपालको भन्दा आधा खर्चमा किसानले उत्पादन गर्छन् । भारत सरकारले बिउ, मल, प्राविधिक र प्रविधिसँगै बजारीकरणमा पनि प्रत्यक्ष सहयोग गर्ने कारण उत्पादन लागत निकै सस्तो पर्ने उनी बताउँछन् । व्यापारीले पनि नाफा बढी हेर्ने कारणले नेपाली उत्पादन किन्न नचाहने उनको गुनासो छ ।

सरकारले नेपाली किसानमैत्री नीति नबनाएसम्म भारतीय व्यापारी र उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकिने उनको भनाइ छ । सरकारले बजार व्यवस्थित नगर्दा नेपाली किसानको उत्पादन उठाउन नमान्ने बिचौलिया व्यापारीले फोनकै भरमा भारतबाट तरकारी मगाएर नाफा कमाइरहेका छन् । उनले भने, ‘२० रुपैयाँ लागत पर्ने उत्पादन दश रुपैयाँमा बोटबाट राम्रो–राम्रो छानेर लैजाऊ भन्दा पनि मान्दैनन् । तर, यही तरकारी उपभोक्ताले सय रुपैयाँ किलोसम्ममा किन्छन् । होलसेलमा नै ७० रुपैयाँ किलोसम्म बिक्री भएको छ ।’
भरतपुर–२५ का दीपक गुरुङको तरबुजाले पनि बजार पाएन । उनले बिक्री भएपछि पैसा दिने सर्तमा आफूसँग भएको तरबुजा काठमाडाैंका व्यापारीलाई दिएका थिए । ७–८ क्विन्टल पठाएको भए पनि २ क्विन्टलजति बिक्री भएको भन्ने जानकारी आएको छ । ‘अब त्यही २ क्विन्टलको मात्र पैसा आउने होला,’ उनले भने, ‘१० रुपैयाँ किलोका दरले के नै फाइदा होला र ? डेढ बिघामा तरबुजा लगाउँदा उनको साढे ४ लाख खर्च भएको थियो । चितवनका किसानले उत्पादन गरेको तरबुजा बिक्री हुने मुख्य बजार भरतपुर र काठमाडौं हो ।’