हिमाली जिल्ला मनाङमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रवेशमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय मनाङले जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन ७२ घन्टाको पिसिआर रिपोर्ट अनिवार्य गरेको हो । मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीका अनुसार स्थानीय, राष्ट्रसेवक कर्मचारी र विशेष कामबाहेक घुम्न आउने आन्तरिक पर्यटकलाई ७२ घन्टाको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।
प्रजिअ गिरीले भने, ‘मनाङमा चिसो बढेकाले विज्ञले चिसो मौसममा कोरोनाको संक्रमणदर बढ्ने भनेकाले कोरोना संक्रमण फैलिन नदिन कडाइ गरिएको हो ।’ मनाङ प्रवेश गर्ने नासोँ, ताल, धारापानी, कोतोलगायतमा प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले पिसिआर रिपोर्ट नभएका आन्तरिक पर्यटकलाई ताल र धारापानीबाट फिर्ता गरेको मनाङका प्रहरी प्रमुख डिएसपी मेखबहादुर कुँवर बताउँछन् ।उनका अनुसार केही दिनयता ताल र धारापानीबाट पिसिआर रिपोर्ट नभएका आन्तरिक पर्यटकलाई सम्झाइबुझाई फर्काउने गरिएको छ । जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक कोरोना परीक्षण रिपोर्टविना नै आएकाले त्यस्ता पर्यटकलाई जिल्ला प्रवेशमा रोक लगाइएको डिएसपी कुँवरको भनाइ छ ।
केही समयअघि कोरोनाका कारण मनाङ पुग्न नसकेका पर्यटक ७२ घन्टाको पिसिआर रिपोर्ट देखाएर मनाङ पुग्न अनुमति पाएसँगै मनाङ पुग्ने आन्तरिक पर्यटकको संख्या बढेको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ बताउँछन् ।
विशेषगरी संसारकै उच्च स्थानमा रहेको तिलिचो ताल, गंगापूर्ण ताललगायतको ठाउँ अवलोकनका लागि काठमाडाैं, पोखरा, चितवन र लमजुङका नागरिक मनाङ पुगेका छन् ।