गण्डकी प्रदेशमा थप चारजनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
कास्कीका तीन र बाग्लुङका एक संक्रमितको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
कास्कीको पोखरा महानगरका ७५ वर्षीय पुरुषको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा आज बिहान निधन भएको हो । उनलाई १४ कात्तिकमा कोरोना पुष्टि भएको थियो ।
पोखराकै अर्का एक ५७ वर्षीय पुरुषको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । उनलाई २ कात्तिकमा कोरोना पुष्टि भएको थियो ।
निर्देशनालयका अनुसार पोखरा महानगरकै नाम नखुलेका ३० दिने शिशुको शुक्रबार दिउँसो निधन भएको छ ।
त्यस्तै बाग्लुङ जैमिनेका २९ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको छ । उनलाई ८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सय पुगेको छ ।