एनआरएनएद्वारा स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

शुक्रबार, २१ कार्तिक, २०७७
डिजिटल संस्करण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टिजिन शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड मूल्य पर्ने उक्त एन्टिजेन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई हस्तान्तरण गरेका हुन् । 

हस्तान्तरण कार्यक्रममा राज्यमन्त्री रावतले  कोभिड– १९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीले ठूलो योगदान पुऱ्याएको उल्लेख गर्दै नेपाल सरकार र संघबीच सहकार्यको आवश्यकतामा जोड दिए ।  
     
एनआरएनएका उपाध्यक्ष डा. केसीले विश्वव्यापी कोरोना संक्रमण सुरु भएदेखि नै विदेशमा रहेका नेपालीले स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको बताए । एनआरएनएका केन्द्रीय पार्षद् कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्यसम्बन्धी सामग्री नेपालका लागि जुटाउन सकेकाेमा प्रसन्नता व्यक्त गरे । यसअघि जापान सरकारले गरेको प्रतिबद्धतानुसार थप स्वास्थ्य  सामग्री नेपाल भित्र्याउन पहल गरिने उनले जानकारी दिए । 

एनआरएनएले कोभिड महामारी सुरु भएदेखि दुई करोड रुपैयाँबराबरको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । संस्थाले पहिलो चरणमा विश्वका ५० भन्दा बढी देशमा करिब दुई हजार पाँच सय स्वयंसेवक परिचालन गर्दै कोभिड पीडित नेपालीलाई सहयोग गरेको थियो ।  राससका अनुसार कोभिडविरुद्ध लड्न अध्यक्ष कुमार पन्तका अध्यक्षतामा एक उच्चस्तरीय समितिसमेत गठन गरिएको छ ।
 

सुझावित समाचार