जिल्लामा समुदायस्तरमा फैलिँदै गएकाे संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ अभियान सञ्चालन गरिएको छ ।
स्वास्थ्य कार्यालय बाग्लुङले जिल्लास्थित सम्पूर्ण स्थानीय तह र कार्यालयमा कार्यरत कर्मचारी एवं स्वास्थ्यकर्मीलाई ‘कोरोना महामारी, मेरो जिम्मेवारी’को शपथ खुवाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट सुरुवात गरिएको शपथ अभियान सबै कार्यालय र स्थानीय तहमा सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
कोरोना रोकथामका लागि लकडाउन, निषेधाज्ञाले रोक्न सम्भव नभएपछि सबैलाई जिम्मेवार बनाउन शपथ अभियान सञ्चालन गरिएको गुरौले बताए ।
यो अभियान कर्मचारी मात्र नभएर आमजनतालाई पनि जिम्मेवार बनाउन यो अभियानअन्तर्गत ६ बुँदाको शपथ खुवाइएको छ ।
कार्यालयले तयार पारेको शपथ जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले आफ्नो मातहतका कर्मचारीलाई खुवाएका छन् ।
कोरोनाको जोखिम समुदायस्तरमा बढ्दै गएपछि लकडाउनले मात्र नियन्त्रण गर्न सम्भव नभएपछि यो अभियान थालिएको स्वास्थ्य कार्यालय बाग्लुङका कोरोना महामारी फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
घिमिरेका अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन समितिको कात्तिक १७ मा बसेको बैठकले जिल्लाका सबै तह र क्षेत्रलाई कोभिडप्रति थप जिम्मेवार र सजग बनाउने यो अभियान चलाउने निर्णय गरेको थियो ।