धनगढीमा दुईजना प्रहरीको हत्या घटनासँग जोडिएको तस्करीको मटर (केराउ)को कारोबारमा संलग्न एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–५ शिवनगरस्थित आदित्य ट्रेडिङका सञ्चालक ३५ वर्षीय राजीव गुप्ता पक्राउ परेका हुन् ।
प्रहरीको हत्या गरेर भारत तस्करी गरिएको केराउ गुप्ताको भएको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । हालसम्मको अनुसन्धानबाट गुप्ताले नै तस्करीका लागि मटर पठाएको पाइएको प्रहरीले जनाएको छ । मटर कहाँबाट ल्याएको थियो भन्ने विषय अनुसन्धानकै क्रममा रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
धनगढी–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको मटर तस्कर समूहले गत १ कात्तिकको राति हत्या गरेको थियो । मटर तस्कर भइरहेका वेला रोक्न खोजेपछि तस्करहरूले दुवैजनाको हत्या गरी सीमा क्षेत्रमा बग्ने मोहना नदीमा फालेका थिए । प्रहरीको हत्यापछि सोही राति ५० बोरा मटर मोहना घाटपारि पर्ने भारतको वनकट्टी पुर्याइएको खुलेको घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।
रातिको करिब साढे १० बजेतिर गोरुगाडामा राखेर मोटर तस्करी गर्ने क्रममा घाटनजिक रोकेपछि प्रहरी सहायक निरीक्षक विक र जवान साउदको तस्करबाट हत्या भएको तथ्य प्रहरीले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
पक्राउ परेका गुप्तासँग सोधपुछ थालिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । मटर कहाँबाट ल्याइएको थियो भन्नेबारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार नेपालको पूर्वी क्षेत्रबाट मटर धनगढी ल्याइएको थियो । भारतमा मटरको माग उच्च रहेकाले नेपालका विभिन्न नाका भएर भारतमा मटर तस्करी हुने गरेको छ । तेस्रो मुलुकबाट समेत आयात भएर मटर नेपालका विभिन्न नाकाबाट भारत तस्करी हुने गरेको बताइन्छ ।
प्रहरी स्रोतका अनुसार भारत तस्करीका लागि मटर धनगढीबाट जुगेडा लगेर राखिएको थियो । जुगेडा पुर्याइएको मटर राति पारि तस्करी गर्ने क्रममा घटना भएको हो । यो नाका भएर प्रहरीको सेटिङमा सामान तस्करी हुने गरेको स्थानीय बताउँछन् । भारतबाट लुगाकपडा, गाडीका पार्टपुर्जा, दैनिक उपभोग्य सामान, विद्युतीय सामान आदि तस्करी हुने गरेको एक स्थानीयले बताए ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आठजनालाई यसअघि नै पक्राउ गरेर ज्यानसम्बन्धी मुद्दा चलाएको छ । धनगढी उपमहानगरपालिका–१० का पर्कु भनिने ३१ वर्षका रोहित राना, २० वर्षका राजेन्द्र राना, ३० वर्षका चोर भनिने सुरेश राना, २५ वर्षका गब्बर भनिने राजकुमार राना, २२ वर्षका रामनिवास राना, २९ वर्षका टल्लु भनिने दलराम राना, २५ वर्षका गोपाल भनिने रामगोपाल राना र २० वर्षीय रोहित रानालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो ।
हत्यामा संलग्न एकजना अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार अभियुक्त तस्करीको मुख्य नाइके भएको प्रहरीको दाबी छ । प्रहरी नायब उपरीक्षक विष्टले घटना अनुसन्धान पूरा भइनसकेको बताए । पक्राउ परेका गुप्ताले तस्करमार्फत सीमानाकाबाट सामान अवैध रूपमा ओसारपसार गर्ने गरेको बताइन्छ ।