क्यान्सरका प्रमुख कारणहरूमध्ये वंशानुगत गुणलाई पनि मुख्य कारण मानिन्छ । जेनेटिक परीक्षणले क्यान्सरको जोखिम पत्ता लगाउन सकिने हुँदा उपचार र नियन्त्रणका लागि प्रभावकारी मानिन्छ । मायो क्लिनिकका वैज्ञानिकहरूले जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसन (जामा)मा भर्खरै प्रकाशित गरेको एक अध्ययनअनुसार प्रत्येक आठजना क्यान्सर रोगीमध्ये एकजनामा जिनमा आउने परिवर्तनका कारण क्यान्सर हुने गरेको पाइएको छ ।
अमेरिकामा पछिल्लो समय क्यान्सर पत्ता लागेका तीन हजारभन्दा बढी व्यक्तिमा गरिएको अध्ययनअनुसार १३.५ प्रतिशत बिरामीमा क्यान्सर विकाससँग सम्बन्धित जिनमा वंशानुगत उत्परिवर्तन भएको पाइएको थियो । विज्ञहरूका अनुसार, जेनेटिक म्युटेसन अर्थात् आनुवंशिक उत्परिवर्तनले शरीरमा जिनमा क्षति पुर्याउने र क्यान्सरजन्य कोषहरूको वृद्धि गर्छ । अध्ययनअनुसार १० देखि २५ प्रतिशत उत्परिवर्तनले समेत क्यान्सर उत्पन्न गर्न सक्छ । यो अध्ययनले परिवारमा हुने आनुवंशिक परिवर्तनका कारण हुने क्यान्सरको जोखिम कम गर्न महत्वपूर्ण हुन सक्ने देखाएको छ ।
मायो क्लिनिकले दुई वर्षसम्म तीन हजार ८४ जना विभिन्न क्यान्सरपीडितमा जेनेटिक परीक्षण गरेको थियो । परीक्षणमा भर्खरै क्यान्सर पत्ता लागेका र क्यान्सरको दोस्रो र तेस्रो चरणमा पुगिसकेका बिरामीलाई पनि समावेश गरिएको थियो ।
अध्ययनमा स्तन, कोलोरेस्ट्रोल, फोक्सो, गर्भाशय, आमाशय, प्रोस्ट्रेट र एन्ड्रोमेट्रियलजस्ता क्यान्सरका बिरामी थिए । तर, अध्ययनमा जेनेटिक परिवर्तनका कारण भएको क्यान्सरका बिरामीमध्ये जम्मा ४८ प्रतिशतमा मात्र जेनेटिक परीक्षणबाट पत्ता लागेको थियो । करिब आधा प्रतिशतभन्दा बढी बिरामीमा भने जेनेटिक परिवर्तन भएको पाइएको थिएन । जसले गर्दा बिरामीका परिवारमा पनि जिनबाट क्यान्सर सर्ने सम्भावना प्रबल रहेको पाइएको थियो ।
सामान्यतः जुनसुकै व्यक्तिमा पनि क्यान्सर हुने जोखिम रहन्छ । केही व्यक्तिमा विभिन्न रोग पनि क्यान्सरको कारण बन्न सक्छ, साथै जेनेटिक परिवर्तन पनि यसको एक कारण बनेको पाइन्छ । खासगरी स्तन र कोलोन क्यान्सर यसका मुख्य उदाहरण हुन् । अध्ययनका क्रममा जेनेटिक परिवर्तनका कारण भएका करिब एकतिहाइ व्यक्तिमा उपचारबाट निको पार्न सम्भव देखिएको छ । सुरुवातमा पत्ता लागेका क्यान्सरको उपचारमा शल्यक्रिया र किमोथेरापी प्रयोगमा ल्याइएको थियो । यदि आनुवंशिक परीक्षण नगरिएको भए बिरामीले समयमै उपचार पाउन सम्भव थिएन ।
सम्भावित क्यान्सरबाट बच्न आनुवंशिक परीक्षण निकै आवश्यक मानिएको छ । खासगरी क्यान्सरपीडित र परिवारका सदस्यहरू भविष्यमा हुन सक्ने जोखिमबाट बच्न प्रभावकारी मानिएको हो । क्यान्सर जिनबाट बच्चामा सर्ने र परिवारमा फैलिने हुँदा क्यान्सरको कारण समयमै पत्ता लगाउन सकिँदैन । जसले गर्दा भावी पुस्तामा समेत क्यान्सरको जोखिम रहन्छ । विज्ञहरूले जेनेटिक क्यान्सरबाट बच्न आनुवंशिक परीक्षण प्रभावकारी हुने पुष्टि गरेका छन् ।
एजेन्सीको सहयोगमा