१० लाख घुससहित नेपाल विद्युत् प्राधिकरणका एक इन्जिनियर पक्राउ परेका छन् । बिहीबार दिउँसो हेटौँडा–१० स्थित टिसिएन रोडबाट नेपाल विद्युत् प्राधिकरणअन्तर्गत हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाल नगद १० लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रमुख बाबुराम खतिवडाका अनुसार जैसवालले आयोजनाको काम गरेबापत ठेकेदार कम्पनीसँग १० लाख घुस लिएका हुन् । खतिवडाका अनुसार ठेकेदार कम्पनीले सम्पूर्ण कागजात पूरा गरेर भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको भए पनि जैसवालले आफूलाई १० लाख चाहिने माग गरेका थिए ।
‘१० लाख रुपैयाँ घुस मागेर लामो समयदेखि ठेकेदार पक्षको भुक्तानी रोकिएको रहेछ । उक्त गुनासो हामीसम्म आइपुगेपछि हाम्रो टोलीले उनीमाथि निगरानी राखेको थियो ।’ कार्यालय प्रमुख खतिवडाले भने, ‘इन्जिनियर जैसवाललाई हेटौँडा–१० स्थित मेगा होटलबाट पक्राउ गरिएको हो ।’
प्रसारण लाइन आयोजनाभित्र पर्ने रूखको कटानी गरी ढुवानी तथा घाटगद्दी गरेबापत भुक्तानी गर्नुपर्ने रकमका लागि कागजात प्रक्रिया अघि बढाएबापत घुस मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियार हेटौँडा कार्यालयले जनाएको छ । इन्जिनियरले घुस लिएकोबारे आवश्यक प्रक्रिया अघि बढाइने कार्यालय प्रमुख खतिवडाले बताए ।