नक्कली विवरण पेस गरेर वंशजका आधारमा नेपाली नागरिकता लिएका भारतीय नागरिक अलियास अन्सारी पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कैलालीले अन्सारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
उनलाई नागरिकता दिलाउन सहयोग गरेका दुईजना भने धेरौटीमा रिहा भएका छन् । भारतीय नागरिकलाई नागरिकता दिन सिफारिस गरेका धनगढी उपमहानगरपालिका–१२ का अध्यक्ष गणेशप्रसाद जोशी २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । दाइ बनेर अन्सारीलाई नागरिकता दिलाउन सहयोग गरेका धनगढी–१२ का खुसीराम चौधरीलाई ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । तर, धरौटी बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको जिल्ला अदालतले जनाएको छ ।
कैलाली टीकापुरमा बस्दै आएका भारतीय नागरिक अन्सारीले ०७५ फागुनमा जिल्ला प्रशासन कार्यालयबाट वंशजका आधारमा नेपाली नागरिकता लिएका थिए । भारतीयले नेपाली नागरिकता लिएको जाहेरी परेपछि प्रहरीले अन्सारीसहित नक्कली दाइ–भाउजू बनेर नागरिकता दिन सहयोग गरेका खुसीराम चौधरी र गीता चौधरी तथा वडाको सिफारिसपत्रमा हस्ताक्षर गरेका वडाध्यक्ष जोशीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।
एक लाखको लोभमा नक्कली बाबु
बुबा बनेर अन्सारीलाई नागरिकता दिलाउन सहयोग गरेका पुनिराम चौधरी फरार छन् । पुनिराम र उनका छोरा खुसीरामले एक लाख रुपैयाँ लिएर अन्सारीलाई नागरिकता दिलाउन सहयोग गरेको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले पुनिराम नक्कली बुबा, खुसीराम र गीताले नक्कली दाइ–भाउजू बनेर वडाबाट सिफारिस लिई भारतीयलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाएको पाइएको बताए ।
त्यसबापत एक लाख रुपैयाँ लिएको बयान खुसीरामले दिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । गीतालाई साधारण तारेखमा रिहा गरिएको छ । एक लाख रुपैयाँ पाएपछि नक्कली आफन्त बनेर भारतीयलाई नागरिकता दिलाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अन्सारीले झुक्याएर लिएको नेपाली नागरिकता खारेजीका लागि पनि प्रक्रिया अगाडि बढेको विष्टले बताए ।
यस्तो छ कानुनी व्यवस्था
विदेशी नागरिकले झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजारदेखि एक लाखसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ । नागरिकताका लागि सिफारिस र सनाखत गर्ने व्यक्तिलाई ६ महिनादेखि तीन महिनासम्म कैद वा २५ हजारदेखि ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुन छ ।