नेप्से परिसूचक घट्न रोकिने प्रयासमा दखिएको छ । मंगलबार नेप्से ५ दशमलव ४० अंकले बढेर १ हजार ६ सय ४३ दशमलव ०३ बिन्दुमा पुगेको छ । बजार पुँजीकरणका आधारमा अग्रस्थानमा रहेको नेपाल टेलिकममा सेयर लगानीकर्ता आकर्षित भएपछि पनि बजारको वृद्धिलाई टेवा पुगेको हो ।
कम्पनीको एकै दिन १० करोड रुपैयाँको सेयर किनबेच भएको छ । कम्पनीको २४ रुपैयाँले मूल्य बढेर ७ सय ५१ रुपैयाँमा सेयर कारोबार भएको छ । यससँगै कम्पनीको बजार पुँजीकरण १ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । कुल बजार पुँजीकरण २१ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा नेपाल टेलिकम एउटैको ५ प्रतिशत हिस्सा छ ।
नेपाल टेलिकमले केही वर्षदेखि नगद लाभांश मात्र दिँदै आएको छ ।
कम्पनीले गत वर्ष ४५ रुपैयाँ नगद लाभांश दिएको थियो । बजार मूल्यको १० प्रतिशतभन्दा कम नगद लाभांश दिएकाहरूको नेप्सेले मूल्य समायोजन गर्दैन । बजारमा माग र आपूर्तिबाटै समायोजन हुँदा मात्रै मूल्य घटबढ हुने भएकाले पनि लगानीकर्ता यसमा आकर्षित देखिएका हुन् । कम्पनीमा संस्थागत लगानीकर्ताले पनि लगानी बढाएका छन् ।
मंगलबार बजारमा २ अर्ब २३ करोड रुपैयाँको सेयर खरिद–बिक्री भयो । वाणिज्य र विकास बैंकबाहेक सबै समूहगत परिसूचकमा सुधार भएको छ । उच्च उतारचढावमा देखिएको बजारमा १ सय १ वटा धितोपत्र तथा ऋणपत्रको मूल्य बढेकोमा ३० वटाको मात्रै २ प्रतिशतभन्दा धेरैले मूल्य बढेको छ । मूल्य घटेका ७१ वटामा आठको बाहेक सबैको २ प्रतिशतभन्दा कमले मूल्य घटेको छ ।
टेलिकमपछि एनआइसी एसिया, प्राइम कमर्सियल बैंकलगायतको कारोबार रकममा पनि वृद्धि भएको छ । कारोबार रकमका आधारमा यी कम्पनी दोस्रो र तेस्रो स्थानमा छन् । विशाल बजार कम्पनीको मंगलबार पनि मूल्य करिब १० प्रतिशत बढेको छ ।
सेयर बजार अधिक खरिद क्षेत्रमा प्रवेश गरेको छ । १४ दिने आरएसआई सूचकको यो स्केल ७५ मा छ । ७० भन्दा माथि भएमा बजारमा खरिद चाप बढेको संकेत गर्छ । नेप्सेको मैनबत्ती चित्रमा मंगलबार सानो शरीरको सेतो मैनबत्ती आकृति बनेको छ । केही दिनदेखि घटेको बजारमा बनेको यो आकृतिले बजार घट्न रोकिएको हुन सक्ने संकेत गर्छ । सुनिश्चितता भने बुधबारको कारोबारबाट गर्न सकिन्छ । कारोबारको मध्यसम्ममा बजार वृद्धि भए बजार बढेर बन्द हुन सक्ने सम्भावना छ ।